आगामी तीन सातामा अमेरिकामा कोरोनाबाट २० हजार बढीको मृत्यु हुन्छ : सीडीसी

एजेन्सी, १८ साउन । संयुक्त राज्यको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले अमेरिकामा कोरोना भाइरसका कारण आगामी तीन सातामा २० हजारभन्दा बढी ज्यान जाने दाबी गरेकाे छ ।

सीडीसीले हालै प्रकाशित गरेको पूर्वानुमानअनुसार अमेरिकामा २२ अगस्टसम्म १ लाख ७३ हजारभन्दा बढीकाे मृत्यु हुनेछ ।

अमेरिकामा महामारी सुरु भएयता कम्तिमा १ लाख ५७ हजार जनाकाे ज्यान गइसकेको छ ।

सामाजिक जमघटहरूमा विशेषगरी युवा समूहहरूले भाइरसको फैलावटलाई बढावा दिइरहेका कारण देशभरि, स्थानीय नेताहरू र जनस्वास्थ्य विज्ञहरूले बासिन्दाहरूलाई लापरवाही नगरी सावधानीहरू अपनाउन आग्रह गरेका छन् ।

सीडीसीका अनुसार अलाबामा, केन्टकी, न्यूजर्सी, पोर्टो रिको, टेनेसी र वाशिंगटनमा नयाँ मृत्यु हुने सम्भावना रहेको छ ।

अमेरिकामा कोरोना संक्रमितकाे संख्या ४७ लाख ६४ हजारभन्दा बढी छ ।

Loading...