विराटनगर, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टायता कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइबारको ब्रिफिङका क्रममा थप एक जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पर्साकी एक महिलाकाे ज्यान गएको जानकारी दिए ।
पर्साको वीरगञ्ज महानगरपालिका—१६ की ६८ वर्षीया वृद्धाको १७ साउनमा कोरोनाबाट मृत्यु भएको हो ।
ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता डा. गौतमले बताए ।
स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ साउनमा नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो ।
मधुमेह र उच्च रक्तचापको १६ साउनमा ती वृद्धामा कोरोना पोजेटिभ देखिएको थियो ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ५७ पुगेको छ ।
संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ । आइतबार थप २४६ जनामा कोरोना पोजिटिभ देखिएकाे हाे ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । संक्रमितमध्ये ७१.८ प्रतिशत निकाे भएकाे मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।