वन क्षेत्रबाट रातको समयमा ढुंगा गिटी तस्करी

विराटनगर, १८ साउन । उत्तरी मोरङमा वन क्षेत्रमा अवैधरुपमा उत्खनन् ढुगां गिटी तस्करी हुने गरेको पाइएको छ । सुरक्षा निकायको आँखा छल्दै रातको समयमा तस्करी हुने गरेको पाइएको हो ।

केराबारी गाउँपालिका–८ स्थित खदम खोला आसपासको वन क्षेत्रमा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले आइतबार बिहानको राति २ बजे चारवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

बिहानका राति तस्करी गर्न ढुंगा लोड गर्दै गरेको अवस्थामा ट्रयाक्टर नियन्त्रणमा लिइएपछि रातको समयमा अवैध उत्खनन् मौलाएको पुष्टि हुन्छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक ऋषिराज ढकालले को२त ६७५७, ९८१२, ७०७८ र ७१२५ नम्बरका ट्रयाक्टर नियन्त्रणमा लिएको बताए ।

ट्रयाक्टर आवश्यक कारबाहीका लागि प्रहरीले आइतबार नै वन कार्यालयमा बुझाएको छ । नियन्त्रणमा लिन प्रहरीले घेरा हालेको चाल पाएर ढुंगा तस्करीमा संलग्नहरु भने फरार भएको ढकालले बताए ।

‘बर्खाको समयमा अहिले खोला तथा नदीजन्य पदार्थ ओसारपसार गर्न रोक लगाइएको छ,’ उनले भने, ‘यही मौकामा तस्करीमा संलग्नको नजर पूर्णरुपमा निषेधित मानिने वन क्षेत्रतिर सोझिएको पाइयो ।’

शव डिभिजन वन कार्यालय केराबारीका प्रमुख बिक्रम अमात्यले वन क्षेत्रलाई निषेधित मान्दै कानुनले उत्खनन्का लागि पूर्णरुपमा रोक लगाएको बताए ।

प्रहरीले पक्राउ गरेर बुझाएका ट्रयाक्टरमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उनले प्रहरीसँग समन्वय गरेर ट्रयाक्टर नम्बरका आधारमा तस्करीमा संलग्नको पनि खोजी भइरहेको बताए ।

Loading...