विराटनगरमा १२ सहित प्रदेश १ मा २७ जनामा कोरोना

विराटनगर, १८ साउन । विराटनगरमा १२ जनासहित प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

संक्रमितमध्ये १७ जना मोरङका हुन् । तीमध्ये १२ जना विराटनगर, एकजना बुढीगंगा, कटहरीका दुईजना र ग्रामान गाउँपालिकाका एकजना छन् ।

विराटनगरका संक्रमितमध्ये दुईजना नापी कार्यालयका कर्मचारी, दुईजना प्रहरी, दुईजना स्वास्थ्यकर्मीलगायत छन् ।

सुनसरीको धरानमा नौ, इटहरीमा एक र बराहक्षेत्रमा एकजनामा कोरोना संक्रमण देखिएको छ ।

विराटनगर महानगरपालिकामा यसअघि १०८ जनामा कोरोना देखिएपछि लकडाउन गरिएको छ । आइतबार १३ जना थप भएसँगै महानगरपालिकाभित्रका कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।

Loading...