नापी कार्यालय विराटनगरका सुरक्षा गार्डसहित दुई जनामा कोरोना संक्रमण

विराटनगर, १८ साउन । विराटनगरस्थित नापी कार्यालयका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

नापी कार्यालयबाट पाँच जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको नापी कार्यालय विराटनगरका निमित्त प्रमुख गणपति साहले जानकारी दिए ।

उनका अनुसार संक्रमण पुष्टि भएकामध्ये ३६ वर्षीय पुरुष राजश्व फाटका खरदार हुन् । ३८ वर्षीय पुरुष जना सुरक्षागार्ड हुन् ।

पाँच जनाको स्वाब संकलन गर्दा दुई जनामा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गर्ने तयारी भएको उनले बताए ।

‘महानगरपालिकामा सबै कर्मचारीको पीसीआर जाँच गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘भोलि रक्षबन्धनको विदा होला, मंगलबारबाट कार्यालय बन्द गर्ने गरी समन्वय गरिरहेका छौं ।’

आइतबार नापीका दुई जना कर्मचारीसहित विराटनगरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।

नापी कार्यालय अत्याधिक भीड हुने क्षेत्र हो । कर्मचारीमा सेवाग्राहीबाट कोरोना सरेको आशंका गरिएको छ ।

Loading...