चेल्सीका तीन खेलाडीले बायर्नविरुद्धको खेल गुमाउने

एजेन्सी, १८ साउन । लण्डन क्लब चेल्सीका तीन खेलाडीले च्याम्पियन्स लिगअन्तर्गत जर्मन क्लब बायर्न म्युनिखविरुद्धको खेल गुमाउने भएका छन् ।

चेल्सीका क्रिस्टियन पुलिसिक, पेड्रो रोड्रिग्वेज र केसार अज्पिलिकुएटाले बायर्नसँगको खेल गुमाउने भएका हुन् ।

तीनै खेलाडी एफए कपको फाइनल खेलमा घाइते भएका हुन् । चेल्सीले आर्सनलसँगको खेलमा पराजय ब्यहोर्दा यी तीन खेलाडीले चोट बोकेका थिए ।

शनिबार राति वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा चेल्सी आर्सनलसँग २–१ गोलले पराजित हुन पुगेको थियो ।

जसमा पुलिसिकले चेल्सीलाई सुरुआती अग्रतासमेत दिलाएका थिए । तर, आर्सनलका अबामेयाङले दुई गोल गरेपछि चेल्सी स्तब्ध भएको थियो ।

चेल्सीका कप्तान अज्पिलिकुएटा खेलको २८औं मिनेटमा घाइते हुन पुगेका थिए ।

अबामेयाङमाथि उनले खराब ट्याकल गरेपछि आर्सनलले पेनाल्टी पाएकाे थियो । जसमा, अज्पिलिकुएटाले पनि ह्याम्सस्ट्रिङ इन्ज्युरीकाे समस्या बाेकेका थिए ।

साेही कारण खेलकाे ३४औं मिनेटमा उनले मैदान छोडेका थिए । प्रशिक्षक फ्रान्क लाम्पार्डले उनको स्थानमा एन्द्रेज क्रिस्टेन्सनलाई मैदान प्रवेश गराएका थिए ।

यसैगरी दोस्रो हाफको चौथो मिनेटमा नै पुलिसिकले चोट बोक्दै मैदान छोडे । ह्याम्सस्ट्रिङकै समस्या ब्यहोरेका पुलिसिकको स्थानमा पेड्रो मैदान प्रवेश गरेका थिए ।

यस्तै वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका पेड्रो पनि घाइते भएका थिए । काँधमा चोट बोकेपछि उनलाई स्ट्रेचरमा मैदानबाट बाहिर निकालिइएको थियो ।

अब यी तीन जनाले च्याम्यिन्स लिगको बायर्नविरुद्धको अन्तिम १६ को दोस्रो लेगको खेल गुमाउने प्रशिक्षक लाम्पार्डले पुष्टि गरेका छन् । चेल्सीले आगामी शनिबार बायर्नविरुद्ध उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

स्टाम्फोर्ड ब्रिजमा भएको पहिलो लेगको खेलमा बायर्नसँग ३–० गोलले पराजित भएका कारण यो खेलमा चेल्सीमाथि दबाब छ ।

‘मलाई तीनै खेलाडीको चोटबारे पूर्णरूपमा थाहा छैन तर पुलिसिक र एज्पिको ह्याम्सट्रिङको समस्या हो’, खेलपछि पत्रकार सम्मेलनका क्रममा लाम्पार्डले भने, ‘अब चेकजाँच हुन्छ र थाहा हुन्छ । तर, यो स्पष्ट छ कि उनीहरू अर्को सातासम्म फिट हुन सक्दैनन् ।’

अक्सिजन लगाएर स्ट्रेचमा राखेर मैदानबाहिर लगिएका पेड्रोको भने आर्सनलविरुद्धको खेल नै चेल्सीका लागि अन्तिम हुनसक्ने लाम्पार्डको भनाइ छ ।

अघिल्लो महिना नै चेल्सीसँगकाे सम्झाैता सकिएपछि उनी पेड्रो फ्री ट्रान्सफरमा इटालियन क्लब रोमा जाने चर्चा छ ।

‘पेड्रोको चोट गम्भीर छ, दुःख लागेको छ कि सम्भवतः उनको यो खेल नै चेल्सीका लागि अन्तिम हुन सक्ने सम्भावना छ । उनी अविश्वनीय खेलाडी हुन् । उनी घाइते हुँदा म निराश छु’, लाम्पार्डले भने ।

Loading...