बेलका तनावग्रस्त, प्रहरीसहित दर्जन प्रदर्शनकारी घाइते

उदयपुर, १८ साउन । बेलका नगरपालिकामा मनलाग्दी र अनियमितता बढेको आरोप लगाउँदै नेपाली कांग्रेससहितका गठनबन्धनले नगरपालिका घेराउ गर्दा स्थिति तनावग्रस्त बनेको छ ।

स्थानीय जनप्रतिनिधि र कर्मचारीद्वारा भएको अनियमितताको विरोधमा प्रदर्शन गर्दै गठबन्धनले नगरपालिका घेराउ गरेको छ । प्रदर्शनले नगरपालिका तनावग्रस्त बनेको छ ।

यसैक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा केही प्रहरीसहित दर्जनभन्दा बढी प्रदर्शनकारी घनाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रदर्शनकारीहरुको टाउको तथा खुट्टामा चोट लागेको छ ।

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पनि भेला भएकाले मुठभेडको सम्भावना रहेको बताइएको छ ।

नगरपालिका अगाडि भएको प्रदर्शनमा एक हजारभन्दा बढीको संख्या विपक्षी गठबन्धनका कार्यकर्ताहरुको उपस्थिति रहेको छ । दुवै पक्षका कार्यकर्ताहरु भेला भएकाले स्थिति नियन्त्रणमा नि गाह्रो भइरहेको स्थानीय पत्रकार सुमन खतिवडाले जानकारी दिए ।

नगरपालिकामा मनलाग्दी र भ्रष्टाचार बढेको भन्दै नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले राजीनाको घोषणा गरेयता कांग्रेस आन्दोलित बनेको हो । उनले विज्ञप्ति प्रकाशित गरी आत्मालोचना गर्दै राजीनामा नगर्ने बताइसकेकी छन् ।

स्थानीय सरकार र नेकपाले उपमेयरलाई थमथमाएर भ्रष्टाचार र अनियमिततालाई प्रोत्साहन गरेको भन्दै कांग्रेससहितका विपक्षी दल आन्दोलित बनेका हुन् ।

कांग्रेसका युवा नेता लवराज अधिकारीले जनप्रतिनिधि र कर्मचारीमाथि भ्रष्टाचार आरोप लागिरहँदा नगरप्रमुख दुर्गाकुमार थापाले आफूनिकट वडाअध्यक्षको नेतृत्वमा छानविन समिति गठन गरी ढाकछोप गर्ने प्रयास गरेको आरोप लगाए ।

Loading...