ओली र दाहालद्वारा तिक्तता साटासाट

काठमाडौ, १८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षहरुले प्रधानमन्त्री निवास बालुवाटारमा आज आपसी तिक्तता र गुनासा साटासाट गरेका छन् । पार्टीभित्र विवाद बढ्दै गएपछि आज पार्टीका दुई अध्यक्षले वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वासमा मन माझामाझ गरेका हुन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच करिब तीन घण्टा छलफल भएको बताए । दुई अध्यक्षको भेटमा ठोस निर्णय केही नभए पनि आपसी तिक्तता, गुनासा र पार्टीभित्र देखिएका अन्तरसंघर्षका विषयमा मन माझामाझ भएको खनालले बताए । खनालका अनुसार छलफलमा दुवै अध्यक्ष विगतभन्दा लचक देखिएको र सकारात्मक छलफलको सुरुवात भएको छ ।

दुई अध्यक्षबीच पार्टीभित्रको गतिरोध अन्त्यका लागि छलफललाई निरन्तरता दिने सहमति पनि बनेको खनालको भनाइ छ । प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्ष दाहालबीच १३ साउनयता कुनै छलफल र भेटघाट भएको थिएन ।

पार्टीको विवाद उत्कर्षमा आएपछि दुई अध्यक्षबीच दुरी बढेको थियो । दुई अध्यक्षबीचको दुरी क मगर्न महासचिव विष्णु पौडेलले सहजीकरण गरेका थिए । यसअघि ओलीको सन्देश लिएर महासचिव पौडेल दाहाल निवास खुमलटार पुगेका थिए ।

पार्टीभित्रको विवाद साम्य नभएपछि गएको १० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठक अवरुद्ध भएको छ ।

Loading...