कर्मचारीमा कोराना देखिएपछि गाउँपालिकाको कार्यालय बन्द

तनहुँ, १८ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि तीन दिनका लागि गाउँपालिकाले कार्यालय बन्द गरेको छ ।

गाउँपालिकाले क्वारेन्टाइनमा बसेका र कर्मचारीहरूको १४ साउनमा संकलन गरेको स्वाबको परीक्षणमा ४२ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले आइतबार आकस्मिक बैठक बसी तीन दिनका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

साउन १८ देखि २० सम्म कार्यालय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।

कार्यालय परिसर जोखिम रहेकाले तीन दिन कार्यालय तथा वडा कार्यालयबाट प्रदान गरिने सबै सेवाहरू बन्द गरिएको गाउँपालिकाका प्रवक्ता कटकबहादुर थापाले बताए ।

कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएका कर्मचारीले केही दिनअघि बिरामी आमालाई कठमाडौंको अस्पतालमा भेटेर फर्किएका थिए । संक्रमित कर्मचारी पोखरास्थित होम आइसोलेसनमा रहेका छन् ।

Loading...