बराहक्षेत्रमा ढुंगा पन्छाउनेक्रममा एक जनाको मृत्यु, दुई घाइते

सुनसरी, १८ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटमा ढुंगा पन्छाउने क्रममा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

शनिबार बिहान जेसिबीले सडकमा खसेको ढुंगा पन्छाउने क्रममा ढुंगा खस्दा भोजपुर आमचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

स्वामी नारायण एण्ड आशिर्वाद कम्पनीले सामान ल्याउने क्रममा बाटोमा गएको पहिरो पन्छाउँदा ढुंगा खसेको थियो ।

कम्पनीको १ क १७६० नम्बरको जेसिभीले सडकको पहिरोलाई पन्छाउने क्रममा ढुंगा खसेर राईलाई लागेको थियो । राईको घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै रहेका दाजु ३० वर्षीय शंकर राई र १० वर्षीय अजय राई गम्भीर घाइते बनेको इलाका प्रहरीकार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।

७ जनाको समूहमा भोजपुरको आमचोक जाँदै गरेको उनीमध्ये ३० वर्षीय महेन्द्र राई, ९ वर्षीया समीक्षा राई, २४ वर्षीय विशाल राई, ६२ वर्षीया बुद्धिमाया राई सकुशल रहेका छन् ।

मृतक राजकुमारको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । जेसिबी चालक झापा गौरीगञ्जका ३६ वर्षीय कमलबहादुर खत्रीलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर राजवंशीले जानकारी दिए ।

Loading...