अर्थर र बार्सिलोनाबीचको विवाद चर्कियो, अध्यक्ष रिसले चुर

एजेन्सी, १८ साउन । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ ब्राजिलियन मिडफिल्डर अर्थर मेलोको व्यवहारबाट रिसाएका छन् ।

च्याम्पियन्स लिगको मुखमा क्लबको प्रशिक्षणमा नफर्किएर अर्थर अनुशासनहीन बन्न खोजेको आरोप लगाउँदै बार्टोमेउले उनको यस्तो व्यवहार अस्वीकार्य भएको बताएका छन् ।

अर्थर हाल ब्राजिलमा रहेका छन् । ला लिगा सकिएपछि स्वदेश गएका उनले बार्सिलोनाको प्रशिक्षण र त्यसअघि क्लबले गरेको कोरोना परीक्षणमा सहभागिता जनाएनन् ।

गत सोमबार बार्सिलोनाले सबै खेलाडीको कोरोना भाइरस परीक्षण गरेको थियो, जसमा उनी अनुपस्थित रहेका थिए । यस्तै मंगलबारदेखि बार्सिलोना च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा उत्रिएको थियो, त्यहाँ पनि उनी सहभागी भएका छैनन् ।

इच्छाविपरीत आफूलाई क्लब छोड्न बाध्य पारेको भन्दै उनले बार्सिलोनाबाट फेरि नेखेल्ने बताएका थिए । बार्सिलोनाले जुन महिनाको अन्त्यतिरै अर्थरलाई इटालियन क्लब युभेन्टसमा बेचेको थियो ।

अर्थर यसै सिजन ७२ मिलियन युरोमा सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टस जाने पक्का भइसकेको छ । मिरालेम पियानिकसँग सट्टापट्टा भएता पनि अर्थरले यस सिजनको च्याम्पियन्स लिग भने बार्सिलोनाबाटै पूरा गर्नुपर्ने हुन्छ ।

तर, २३ वर्षीय अर्थरले भने पुनः बार्सिलोना नफर्किने र ब्राजिलमै बस्ने बताएका थिए । यस्तै उनले प्रशिक्षक क्वीक सेटिनले आफूलाई जबरजस्ती क्लब छोड्न लगाएको आरोप लगाउँदै च्याम्पियन्स लिग खेल्न नदिने सेटिनकै योजना रहेको पनि दाबी गरेका छन् ।

यता, बार्सिलोनाले भने अर्थरको ब्राजिल बसाइलाई विद्रोही र अनुशासनहीन तबरले हेरेको छ । र, क्लबका अध्यक्षले बार्टोमेउले पनि उनको व्यवहार अस्वीकार्य रहेको बताएका छन् ।

‘अर्थरमा आफ्नो टोलीका सहकर्मीप्रतिको सम्मान देखिएन किनकि, टिमले च्याम्पियन्स लिगमा राम्रो गर्न चाहेको छ’, स्पोर्ट्ससँग बोल्दै बार्टोमेउले भने ।

‘महत्त्वपूर्ण उपाधिका लागि हुने खेलका क्रममा खेलाडी आफैं टोलीबाट निस्किनु तर्कसंगत कुरा होइन । यो एउटा अनूचित व्यवहार हो । हामीले च्याम्पियन्स लिग सकिन्जेलसम्मका लागि उनीसँग सम्झौता गरेका छौं । उनले तबसम्म यहाँबाट खेल्नैपर्ने हुन्छ ।’

यसैगरी बार्टोमेउले अर्थर टोलीको महत्त्वपूर्ण खेलाडी भएको पनि बताए । ‘उनी एक त्यस्ता खेलाडी हुन्, जो टोलीका लागि महत्त्वपूर्ण छन् र उनले हामीलाई सहयोग गर्नुपर्छ,’ उनले भने ।

‘छोटो छुट्टीबाट उनी फर्किएनन्, यो अनुशासनहीन व्यवहार हो । यो व्यवहार कहिल्यै स्वीकार्य छैन । उनले आफू ब्राजिलमै बस्ने र बार्सिलोना नफर्किने कुरा गरे । यस्तो अनुमति कसैले पनि दिँदैन । र, यसैले हामी उनीमाथि कानूनी कारवाही गर्ने पक्षमा पुगेका हौं । ,’ उनले थपे ।

९ जुलाई २०१८ मा ब्राजिलियन क्लब ग्रेमियोबाट बार्सिलोना आएका अर्थरले त्यहाँबाट ७२ खेल खेलेका छन् । २०१९–२० मा भने उनले २८ खेल खेलेका छन् ।

Loading...