प्रेमप्रसाद सञ्जेलमाथि दुर्व्यवहारको आरोप, सञ्जेल भन्छन्, ‘हाकिमको बदनाम गर्छाैं भन्दै टोलमा सुनाए’

कुटपिटमा संलग्नलाई अभद्र व्यवहार मुद्दा चलाउने तयारी

विराटनगर, १८ साउन । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेल शनिबार कार्यकक्षमै कुटिए ।

सञ्जेललाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही कार्यालयका करार कर्मचारी नेत्रकुमारी भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई पक्राउ गरेको छ ।

कुटपिटमा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले अभद्र व्यवहार मुद्दामा म्याद थप गर्ने तयारी गरेको छ ।

घटनापछि शनिबार प्रहरीले दुबै पक्षसँग छलफल गरेको थियो । प्रहरीको छलफल मिलापत्र गराउनेतर्फ केन्द्रित थियो । तर सञ्जेलले योजनावद्धरुपमा आक्रमण भएको दावी गर्दै जाहेरी दिएका छन् । सञ्जेलको जाहेरीपछि प्रहरीले दुईजना महिलालाई नियन्त्रणमा राखेको हो ।

कार्यालय प्रमुख सञ्जेल आफूलाई योजनावद्धरुपमा आक्रमण भएको बताउँछन् । कुटपिटमा संलग्न महिलाहरुले आफूहरुमाथि दुर्व्यवहार भएको बताउँदै आएका छन् । महिलाको दावीलाई तत्काल विश्वास गर्ने आधार नभएको छलफलमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का कार्यालय प्रमुखलाई कुटपिट गरेपछि महिलाले दुर्व्यवहारको आरोप लगाएको बताए । ‘दुर्व्यवहार भएको भए कारबाहीका लागि कानुनी विधि थियो,’ उनले भने, ‘कार्यालय प्रमुखलाई कुटपिटपछि महिलाले आरोप लगाएको देखियो ।’

शनिबार दुबै पक्षसँग घटनाको विषयमा बुझेको बताउँदै उनले आइतबार म्याद थप गरी अनुसन्धान सुरु गर्ने बताए । ‘पीडितका तर्फबाट उजुरी परेको छ,’ उनले भने, ‘तत्काल अभद्र व्यवहार मुद्दामा म्याद थप गर्छौंं ।’

सञ्जेल भन्छन्ः ‘टोलभरि बदनाम गर्छु भन्दै हिँडे’

शनिबार पत्रकारसँग कुरा गर्दै प्रेमप्रसाद सञ्जेलले आफूलाई योजनावद्धरुपमा आक्रमण गरिएकाे बताए । ‘म महिला र तेस्रो लिङ्गीलाई हात उठाउँदिनँ,’ उनले भने, ‘मैले हात उठाउने भए अवस्था अर्कै हुन्थ्यो ।’

शनिबार छुट्टीमा रहेको आफूलाई कार्यालय बोलाएर बदमान गर्छु भन्दै टोलमा कुरा गर्दै हिँडेको उनले बताए ।

‘बिहानभरि टोलमा गएर हाकिमलाई बेइजत गर्दैछौं भनेर आउँदै नआउने हाकिमलाई बोलाए,’ उनले भने, ‘कार्यालयमा बोलाएर घातक चिजले प्रहार गरे ।’

कुटपिटमा संलग्न महिलाले पटक–पटक आफूहरुमाथि दुर्व्यवहार भएको बताएका छन् ।

सञ्जेलले शुक्रबार करारका नायव सुब्बा निर्मलकुमार दाहाललाई कामबाट निकालिदिएका थिए । दाहाल कुटपिटमा संलग्नमध्ये नेत्रकुमारीका आफन्त हुन । आफन्तलाई कामबाट निकालेपछि योजनावद्ध रुपमा बदनाम गर्न खोजिएको सञ्जेलकाे दाबि छ ।

शुक्रबार नै एक महिला अधिकारवादी संस्थामा दुर्व्यवहारको गुनासो गरेका महिलाले शनिबार कार्यालय प्रमुखलाई कुटपिट गरेपछि प्रहरीसँगको बयानमा पटक–पटक अपशब्द प्रयोग गर्ने र दुर्व्यवहार गरेको बताएका थिए । साे संस्था मार्फत महिलाले सञ्जेल विरुद्ध जाहेरि दिने तयारी गरेका छन् ।

Loading...