कोरोना परीक्षणले पशुपक्षीको रोग अनुसन्धानमा समस्या

विराटनगर, १८ साउन । कोरोना भाइरसको पीसीआर परीक्षण गर्न प्रदेश १ सरकारले पशुपक्षी अन्वेषण प्रयोगशालाको भवन प्रयोग गरेको छ ।

प्रयोगशालामा कोरोना जाँच हुन थालेपछि पशुपक्षीका रोग अनुसन्धानमा बाधा पुगेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला प्रमुख डा. सञ्जयकुमार यादवले बताएका छन् ।

पशुपक्षीमा लाग्ने विभिन्न प्रकारका सरुवा रोगहरुको बारमा परीक्षण गरिरहनु पर्ने भएपछि पछिल्लो समयमा समस्या भएको उनले बताए ।

प्रदेश १ का १४ र प्रदेश २ का सिराह र सप्तरीका पशुपक्षीको रोग अध्ययन गर्न प्रयोगशालाको निर्माण भएको उनले बताए । नयाँ ल्याब कोरोना जाँचका लागि प्रयोग हुँदा पुरानै प्रयोगशालामा नमुनाहरुको सामान्य परीक्षण गरिरहेको उनले बताए ।

नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत पशुपक्षी अन्वेषण प्रयोगशाला छ । मन्त्रालयले २५ साउनसम्म कोरोना जाँचका लागि प्रयोगशाला प्रयोग गर्न दिने निर्णय गरेको डा. यादवले बताए ।

मानिसमा लाग्ने ७० प्रतिशत प्रणघातक रोगको स्रोत पशुपक्षी मानिन्छ । पशुका विभिन्न रोगको अन्वेषण गर्न ‘बायोसेप्mटी लेभल टु प्लस’ को प्रयोगशाला रहेको उनले बताए ।

‘हामी रेविजसँग खेल्छौं । एन्थ्राससँग खेल्छौं । बुसिलोसिससँग खेल्छौं । स्वाइनफ्लु, बर्डफ्लुलगायत अहिले लम्पिस्किन डिजिज आयो ।’ उनले भने, ‘यी सबै रोगको परीक्षण गर्नु पर्छ । यस्ता सबै रोगको नमुना ल्याएर परीक्षण गर्नु पर्ने हुन्छ ।’

मान्छेमा र वातावरणमा त्यस्ता रोग रोक्नका लागि आधुनिक प्रयोगशाला पशुसेवा विभागले निर्माण गरेको उनले बताए । प्रदेश १ सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि प्रयोगशाला प्रयोग गर्दा पशुको परीक्षण रोकिएको उनको गुनासो छ ।

Loading...