लेवान्डोस्की र रोनाल्डोलाई उछिन्दै इम्मोबाइलले जिते युरोपियन गोल्डेन बुट

एजेन्सी, १८ साउन । इटालियन क्लब लाजियोका स्ट्राइकर सिरो इम्मोबाइलले युरोपियन गोल्डेन बुट जितेका छन् ।

यस सिजनको सिरी ‘ए’ मा सर्वाधिक धेरै गोल गरेका इटालियन स्ट्राइकर इम्मोबाइल युरोपियन गोल्डेन बुट हात पार्न सफल भएका हुन् । यस्तै उनले सिरी ‘ए’ को गोल्डेन बुट पनि जिते ।

इम्मोबाइलले यस सिजन ३६ गोल गरे । उनले युरोपका शीर्ष पाँच लिगमा बायर्न म्युनिखका स्टार रोबर्टो लेवान्डोस्कीलाई उछिने । लेवान्डोस्कीले ३४ गोल गरेका थिए ।

यस्तै युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ३१ गोल गर्दै तेस्रो स्थान बनाउँदा आरबी लेइपीजबाट यसै सिजन चेल्सीमा अनुबन्ध भएका टिमो वेर्नरले चौथौ स्थान बनाए । उनले २८ गोल गरेका छन् ।

यसैगरी पछिल्ला तीन पटक युरोपियन गोल्डेन बुट जितेका बार्सिलोनाका कप्तान लियोनल मेस्सीले २५ गोल गर्दै पाँचौं स्थान बनाए ।

इम्मोबाइलले उनले सिरी ‘ए’मा तेस्रो पटक गोल्डेन बुट प्राप्त गरे ।

यसअघि उनले सन् २०१३–१४ को सिजनमा २२ गोल गरेका थिए भने सन् २०१७–१८ को सिजनमा २९ गोल गरेका थिए ।

सिरी ‘ए’मा गोन्जालो हिगुइनले राखेको ३६ गोलको कीर्तिमानसमेत बराबरी गरे ।

Loading...