उदयपुरबाट दश मानसिक रोगीको उद्दार

विराटनगर, १८ साउन । प्रदेश १ सरकारले उदयपुरको कटारीबाट १० जनाको मानसिक रोगीको उद्दार गरेको छ ।

कटारी नगरपालिकाका विभिन्न वडाहरुबाट मानसिक स्वास्थ्य समस्या भएपछि सडक तथा खोरमा थुनेर राखिएकाहरुको उद्दार गरिएको हो ।

उद्दार गरिएकामा सडक आश्रित गर्भवती बालिकासहित चार महिला र छ पुरुष छन् । उनीहरुलाई सडक र घर–घरमा गएर सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, सामाजिक अभियान्ता मञ्जिता उपाध्याय, मानव सेवा आश्रमका प्रतिनिधिसहितको टोलीले उद्दार गरेको हो ।

कटारी–१ कालिखोलाका ५७ वर्षीय तर्कबहादुर अधिकारी (खत्री) लाई उद्दार गर्न उनको घर पुग्दा उनलाई घर परिवारले घरदेखि दुई सय मिटर पर बाँसघारीमा बनाइएको खोरमा थुनेर राखेको अवस्थामा भेटिएका थिए ।

उद्दार टोली पुग्दा उनी नग्न अवस्थामा थिए । उनी १० वर्षदेखि खोरमा नग्न अवस्थामा बस्दै आएको स्थानीय पवित्रा थापाले बताइन् ।

कटारीमा करिब ३२ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु रहेको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख भीमकुमारी राउतले स्वास्थ्य समस्या भई सडक आश्रित व्यक्तिका परीवारलाई नगरपालिकामा भेला गरी समस्या समाधानको पहल सुरु गरेको बताए ।

शनिबार उद्दार गरिएकाहरु पाँच सन्तानका आमा, सडकमा रहँदै गर्भवती भएकी बालिका, १० वर्षदेखि खोरमा राखिएका, साङ्लोले बाँधिएका, पढ्दा–पढ्दै स्कुल छोडेका युवाहरु रहेका छन् ।

उद्दार गरिएका व्यक्तिहरुलाई मानव सेवा आश्रम विराटनगरमा राखिएको छ ।

Loading...