बाँकेमा तीन दिनलाई निषेधाज्ञा

विराटनगर, १८ साउन । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारबाट तीन दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएको थियो ।

कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

उनका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुने उनले बताए ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ ।

त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति भएका गाडी मात्र सञ्चालनमा आउन पाउनेछन् ।

कन्टयाक्ट ट्रेसिङ गर्दै समुदायमा कोरोना सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको कुरुम्बाङले बताए ।

बाँकेमा हालसम्म कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ ।

चार सय ३७ जनामा संक्रमण देखिएको छ ।

Loading...