पर्सा जिल्लाभर भोलिदेखि निषेधाज्ञा

विराटनगर, १८ साउन । वीरगञ्ज महानगरपालिकामा मात्रै लगाइएको निषेधाज्ञा भोलि (सोमबार) देखि पर्सा जिल्लाभर लगाइने भएको छ ।

वीरगञ्जमा साउन १० देखि निषेधाज्ञा छ ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएर संक्रमितको व्यवस्थापनमा समस्या भएसँगै पछिल्लो परिस्थितिको विश्लेषण गर्दै निषेधाज्ञा जिल्लाभर विस्तार गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पर्सामा साउनमा मात्रै ११ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पर्याप्त आइसोलेसन सेन्टर नहुँदा लक्षण सहितका संक्रमितलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने नीति अख्तियार गरिएको पर्साामा अधिकांश लक्षणविहीन संक्रमितलाई घरमै राखिएको छ ।

कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।

प्रत्यके दिन बिहान ५ बजेदेखि पर्सा जिल्ला भरी निषेधाज्ञा लागु हुनेछ ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइने छैन ।

शान्ति, सुरक्षा, सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, ड्राईपोर्ट, बैंक (भन्सार, आईसीपी, ड्राइपोर्टमा रहेकामात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग र व्यवसाय बन्द गरिने छ ।

निषेधाज्ञाको पालना नगर्ने काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गर्ने निर्णय भएको छ ।

Loading...