सभामुखका सुरक्षाकर्मीको सम्पर्कमा आएकालाई कारोना देखिएन

विराटनगर, १८ साउन । सभामुख अग्निप्रसाद सापकोटाको स्वकीय सचिवालयका कर्मचारी र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

कोरोना रिपोर्टमा सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

सभामुख सचिवालय स्रोतका अनुसार संक्रमण पुष्टि भएका सुरक्षाकर्मी साउन ६ गतेपछि भने निवासमा आएका थिएनन् ।

सभामुखको अगुवा गाडीमा रहने सुरक्षाकर्मी सवारी हुँदा निवास पुग्ने र अन्य समय हेडक्वार्टरमै बस्ने गर्थे ।

Loading...