अन्तिम खेलमा इब्राहिमोभिकको कीर्तिमान

एजेन्सी, १८ साउन । सिरी ‘ए’अन्तर्गत सिजनको अन्तिम खेलमा एसी मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले क्याग्लीआरीमाथि ३–० गोलको जित दर्ता गरेको हो ।

मिलानको मैदानमा भएको खेलमा ज्लाटान इब्राहिमोभिक र सामु कास्टिलेजोले समान एक–एक गोल गरे भने एक आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको दसौं मिनेटमा क्याग्लीआरीका रंगर क्लाभनले आत्मघाती गोल गरेपछि मिलानले पहिलो हाफभरि अग्रता बनाएको थियो ।

खेलको ५५औं मिनेटमा इब्राहिमोभिकले गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए । त्यसको २ मिनेट नबित्दै सामु कास्टिलेजोले गोल गर्दै मिलानलाई ३–० गोलको जित दिलाए ।

यस खेलमा इब्राहिमोभिकले सिरी ‘ए’ मा नयाँ कीर्तिमान बनाए ।

उनी सिरी ‘ए’ को एक सिजन कमसेकम १० गोल गर्ने सबैभन्दा बूढा खेलाडी बने ।

उनले युभेन्टसका सिल्भियो पियोलाले सन् १९५० मा बनाएको कीर्तिमान आफ्नो नाममा सारे ।

पियोलाले ३८ वर्ष १२७ दिनमा यो रेकर्ड बनाएका थिए । तर, इब्राहिमोभिकले ३८ वर्ष ३०२ दिनमा एक सिजन औषत १० गोल गर्ने रेकर्ड बनाए ।

यता, जितसँगै ६६ अंक जोडेको मिलानले छैटौं स्थानमा रहँदै लिग अन्त्य गर्‍यो । पराजित क्याग्लीआरी भने १३औं स्थानमा रह्यो ।

Loading...