एजेन्सी, १८ साउन । इटालियन सिरी ‘ए’मा लिग च्याम्पियन बनिसकेको युभेन्टस पराजित भएको छ । शनिबार राति भएको २०१९–२० को सिजनको अन्तिम खेलमा युभेन्टस रोमासँग ३–१ गोलले पराजित भएको हो ।

युभेन्टसको मैदानमा भएको खेलमा रोमालाई जिताउन डिएगो पेरोट्टीले २ गोल गरे भने निकोला कालिनिक एक गोल गरे । घरेलु टोलीका गोन्जालो हिगुइनले एक गोल गरे ।
खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा हिगुइनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।
२३औं मिनेटमा कालिनिकले गोल गरेपछि रोमा खेलमा फर्कियो । ४४औं मिनेटमा रोमाले पेनाल्टीका मौका पायो, जसमा पेरोट्टीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।
खेलको ५२औं मिनेटमा पेरोट्टीले दोस्रो गोल गर्दै दुई खेलअगावै च्याम्पियन बनेको युभेन्टसमाथि सहज जित दिलाए ।
रोमाविरुद्धको खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र पाउलो डेबाला थिएनन् । रोनाल्डोले अन्तिम खेलमा आराम पाएका थिए भने डेबाला घाइते भइ उपचाररत छन् ।
जितसँगै पाँचौं स्थानको रोमाले ७० अंक जोड्दै लिग अन्त्य गर्यो । पराजित युभेन्टस भने ८३ अंकका साथ शीर्ष स्थानमा रह्यो ।