चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कपको उपाधि

एजेन्सी, १८ साउन । आर्सनलले इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै आर्सनलले उपाधि जितेको हो ।

वेम्ब्ली स्टेडियममा भएको खेलमा आर्सनललाई जिताउन दुवै गोल पेइर्रे–इमरिक अबामेयाङले गरे । चेल्सीका क्रिस्टियन पुलिसिकले एक गोल गरे ।

खेलमा चेल्सीले सुरुआती अग्रता बनाएको थियो । पाँचौं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा आर्सनलले पेनाल्टीको मौका पायो, जसमा अबामेयाङले गोल गर्दै टोलीलाई बराबरीमा फर्काए ।

खेलको ६७औं मिनेटमा अबामेयाङले दोस्रो गोल गर्दै आर्सनलाई अग्रता दिलाए ।

खेलको ७३औं मिनेटमा चेल्सी दस खेलाडीमा सीमित बन्यो । माटेओ कोभासिसले रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

र, बाँकी रहेको समयमा दुवै टोलीले गोल गर्न नसक्दा आर्सनलले २–१ गोलको जितसहित उपाधि जितेको हो ।

यससँगै आर्सनलले सिजनको पहिलो उपाधि जितेको छ । यस्तै उसले सर्वाधिक धेरै १४ पटक एफए कपको उपाधि जितेको छ । र, आर्सनलले युरोपा लिगमा स्थान पनि बनाएको छ ।

आर्सनलले आठौं स्थानमा रहेर यस सिजन प्रिमियर लिगको अन्त्य गरेका थियो । जसकारण उसले युरोपा लिगमा समेत स्थान बनाउन सकेको थिएन ।

चेल्सीले भने यस सिजन प्रिमियर लिगको चौथो स्थानमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको थियो ।

यस सिजनको च्याम्पियन्स लिगमा पनि चेल्सीको सम्भावना बाँकी नै छ । उसले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बायर्नसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा ३–० गोलले पराजित भएका कारण यो खेलमा ऊमाथि दबाब छ ।

यसअघि एफए कपको सेमिफाइनलमा आर्सनलले साविकको विजेतासमेत रहेको म्यानचेस्टर सिटीमाथि २–० गोलको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । यता, चेल्सी म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराउँदै उपाधि नजिक पुगेको थियो ।

Loading...