विराटनगर गुद्रीका व्यापारी र न्यूराे अस्पतालका चिकित्सकमा पनि काेराेना संक्रमण

विराटनगर, १७ साउन । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा न्यूरो अस्पतालका चिकित्सक र गुद्री बजारका किराना पसल सञ्चालकलाई पनि संक्रमण देखिएको छ ।

विराटनगर महानगरपालिकाका अनुसार न्यूरो अस्पतालको इमरजेन्सी वार्डमा काम गर्ने एक चिकित्सकमा संक्रमण देखिएको हो ।

ति चिकित्सक विराट नर्सिङहोममा पनि कार्यरत थिए । संक्रमित चिकित्सकलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

संक्रमितले काम गर्ने कक्ष सिल गर्न लगाएर उनीसँगको सम्पर्कमा आएका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न लगाइएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

न्यूरो अस्पताल विराटनगरका डाइरेक्टर राजेश भट्टराईले संक्रमित चिकित्सकले काम गरेकाे इमरजेन्सी कक्ष सिल गरिएकाे बताए । संक्रमित चिकित्सककाे सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।

संक्रमित व्यक्तीले काम गरेको स्थानमा डिसइन्फेक्सन स्प्रे गरेर क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीको नमुना संकलन गरिएको उनले जानकारी दिए ।

यस अघि विराट नर्सिङहोम (विराटनगर अस्पताल) र कोशी अस्पतालका चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।

महाशाखा प्रमुख कार्कीका अनुसार शुक्रबार संक्रमण पुष्टि भएका मध्ये एक जना विराटनगर गुद्री बजारमा किराना पसल सञ्चालन गरिरहेका व्यक्ती हुन ।

५२ वर्षिय संक्रमित पुरुषको किराना पसल गुद्री चोकमा छ । संक्रमित व्यक्तीको किराना पसलमा प्राय भिड हुन्थ्यो । सञ्चालकलाइ काेराेना संक्रमण पुष्टि भएपनि शुकबार दिउँसाेसम्म पसल सञ्चालन भइरहेकाे थियाे ।

महानगरकाे टाेलीले संक्रमित व्यक्तीकाे सम्पर्कमा रहेका कर्मचारी र अन्य आफन्तको काेराेना जाँचका लागि भन्दै पसल बन्द गराएकाे छ ।

शनिबार स्वाब संकलन र परीक्षण भएन्

कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि शनिबारबाट विराटनगर महानगरपालिकाले १४ दिनका लागि लकडाउन गरेको छ ।

लकडाउन गरी परीक्षणको दायरा बढाउने बताएपनि शनिबार नमुना संकलन र परीक्षण भएन् ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीका अनुसार यस अघि संकलन भएका नमुना परीक्षण नभएका कारण शनिबार विराटनगरमा शंकास्पद व्यक्तीको नमुना संकलन नगरिएको हो ।

कोशी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्ने क्षमता सिमित छ । क्षमता सिमित भएका कारण यस अघि संकलन गरिएका स्वाब परीक्षणको लाइनमा छन् ।

‘हामीले संकलन गरेका करिब अढाईसय नमुना परीक्षणको लाइनमा छन् ।’ महाशाखा प्रमुख कार्कीले भने ‘ नमुना क्यूमा रहेकाले ल्याबले आज स्वाब संकलन नगर्न भन्यो, भोली(आइतबार)बाट निरन्तर हुन्छ ।’

विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या १०८ छ ।

Loading...