‘इनफ इज इनफ’लाई समर्थन गर्न देउवा वसन्तपुरमा

काठमाडौ, १७ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेट्न वसन्तपुर पुगेका छन् ।

शतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै अनसन बसिरहेका अभियन्ताहरुलाई समर्थन गर्न सभापति देउवा वसन्तपुर पुगेका हन् । असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरु अहिले वसन्तपुरमा अनसनरत रहेका छन् । अनसनरत युवाहरु भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे ।

पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै उनले सरकारले तत्काल आफ्नो प्रतिनिधि पठाएर उनीहरुको माग पूरा गर्ने गरी समझादारी गर्न माग गरे । उनले भने, ‘हाम्रो पार्टीको ऐक्यवद्धता छ । उहाँहरुको मागलाई समर्थन छ । मान्छेलाई मर्न दिनु हुन्न । ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनु पर्छ । सरकारले शान्तिपूर्ण आन्दोलनकारीमाथि धरपकड गरिरहेको छ । यसको घोर भत्र्सना गर्छु ।’

यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा रहेका युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको बताए ।सरकारले आफ्ना प्रतिनिधि पठाएर उनीहरुले उठाएका मागहरु पूरा गर्नुपर्ने बताए ।

शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिबद्धता जनाएको थियो ।

कोरोनाविरुद्धको लडाइँमा भएको खर्चसम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो ।

Loading...