केही दिन झरी नपर्ने, घाम लाग्ने

काठमाडौ, १७ साउन । जल तथा मौसम विज्ञान विभागले मुलुकभर नै मौसम बदलिरहेको र केही दिन झरी नहुने बताएको छ ।

विभागले ठाउँठाउँमा वर्ष भइरहने पनि तत्काल लगातार पानी नपर्ने जनाएको छ ।

मौसमविद्का अनुसार छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा हुनेछ । यसबीचमा नेपालको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ ।

अबको तीन दिनमा सामान्य चर्को घाम लाग्ने र विगतको जस्तो लगातार पानी नपर्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

यसअघि नै पर्याप्त पानी परेकाले जमिन गलेको हुँदा थोरै पानीले पनि धेरै क्षति गर्न सक्नेतर्फ भने सचेत हुनुपर्ने उनी बताउँछन् ।

खण्डखण्डमा भारी वर्षा हुँदा केही ठाउँमा पहिरो खसेर जनधनको क्षति हुन सक्ने पनि अर्याल बताउँछन् ।

अहिले मनसुन न्यूनचापीय रेखा नेपालबाट दक्षिण सरे पनि नेपाल नजिक नै रहेको उनले बताए । भोलि र पर्सि अझै केही नजिक आउने हुँदा तराईका क्षेत्रमा वर्षा थपिने सम्भावना छ ।

अर्यालले भने, ‘आजभन्दा भोलि र पर्सि थोरै बढी वर्षा भए पनि लगातारको झरी पर्दैन ।’

Loading...