ग्वार्डीओलालाई रियल मड्रिडले बनायो उत्कृष्ट प्रशिक्षक

एजेन्सी, १७ साउन । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले आफूलाई रियल मड्रिडले उत्कृष्ट बन्न सहयोग गरेको बताएका छन् ।

‘डीएजेडएन’सँगको कुराकानीमा ग्वार्डीओलाले बार्सिलोनामा छँदा रियलसँगको प्रतिद्वन्द्वीताका कारण आफू उत्कृष्ट प्रशिक्षक बन्न सफल भएको बताएका हुन् ।

बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका ग्वार्डीओलाले चार वर्ष क्याप नोउमा प्रशिक्षकका रूपमा काम गरे । सन् २००८ देखि २०१२ सम्म बार्सिलोनालाई प्रशिक्षण गराएका उनी बायर्न म्युनिख हुँदै सिटी आइपुगेका हुन् ।

तीन वर्ष जर्मन क्लबमा बिताएर इंग्ल्याण्ड आएका उनले सन् २०१६ यता सिटीलाई प्रशिक्षण गराइरहेका छन् । सिटी आइकन उनले बार्सिलोनामा जस्तो सफलता पाउन सकेका छैनन् ।

बार्सिलोना छँदा उनले दुई पटक च्याम्पियन्स लिग र लगातार तीन पटक ला लिगा जितेका थिए । त्यसयता उनले च्याम्पियन्स लिग जित्न सकेका छैनन् । यो सिजन भने च्याम्पिन्स लिग जित्ने उनको सम्भावना बाँकी नै छ ।

सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत ७ अगस्टमा रियल मड्रिडविरुद्ध खेल्दैछ । दोस्रो लेगको खेल सिटीकै मैदान इतिहादमा हुनेछ । पहिलो लेगमा जित निकालेका कारण सिटीको क्वार्टरफाइनलतिर उक्लिने सम्भावना धेरै नै छ ।

‘रियल मड्रिड धेरै नै बलियो टोली हो’, ग्वार्डीओलाले भने, ‘प्रत्येक बाटोमा उनीहरू बलिया छन् । र, रियलले नै मलाई एउटा उत्कृष्ट प्रशिक्षक बनाएको हो । म क्याप नोउ छँदा रियलको नेतृत्त्व जोसे मौरिन्हो र म्यानुअल पेल्लेग्रिनीले गर्थे ।’

उनीहरू बलिया नभएको भए लगातार तीन पटक च्याम्पियन्स लिग जित्ने थिएनन्,’ उनले थपे, ‘र, हालै उनीहरू बार्सिलोनालाई उछिन्दै लिग जितेका छन् ।’

Loading...