लकडाउनले माछामासुको मूल्य आकाशियो

खसी, कुखुरा र राँगाको मासुको मूल्य बढ्यो, सुगुरको यथावत

बबिता लिम्बू

विराटनगर, १७ साउन । कोरोना महामारी त्रासका कारण माछामासु र अण्डाको मूल्य आकाशिएको छ । लकडाउनअघि तोकिएको माछामासुको मूल्यमा लकडाउनकै क्रममा आकाशिएको हो । बजारमा माछामासुको मूल्यमा आकाशिँदा उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

लकडाउनको अविीमा कुखुरा, खसी, भैंसी राँगाको मासुको मूल्य बढेको छ ।

लकडाउनअघि जिउँदो कुखुरा प्रतिकेजी दुई सय र तयारी मासु तीन सय २० प्रतिकिलोमा बिक्री हुँदै आएको थियो । लकडाउनपछिको अवस्थामा जिउँदो ब्रोइलर कुखुरा तीन सय र तयारी मासु तीन सय ८० मा बिक्री भइरहेको छ । लकडाउनको अवधिमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो चार सयभन्दा माथि थियो ।

कुखुराको मासुमा मात्र नभई अण्डाको मूल्य पनि आकाशिएको छ । लकडाउनअघि दुई सय ६० रुपैयाँ पर्ने एक क्रेट अण्डाको मूल्य अहिले चार सय पुगेको छ ।

विराटनगर–२ स्थित खान फ्रेस हाउसका सञ्चालक सुजन कामतले कुखुरा अभाव भएका कारण मासुमा मूल्यवृद्धि भएको बताए । ‘लकडाउनमा मासु खान नहनुे भन्दै फर्म सञ्चालकहरुले सबै कुखुरा नष्ट गरे,’ कामत भन्छन्, ‘अब अहिले कुखुरा कतै छैन । पाए पनि धेरै महँगो, हामीले पनि त महँगैमा बेच्न पर्छ ।’

पोल्ट्री फर्म सञ्चालक र कुखुरा पाल्ने किसानहरुले पहिलेको मात्रामा कुखुरापालन नगरेसम्म मासुको मूल्य नघट्ने कामत बताउँछन् ।

राँगाको मासुमा पनि लकडाउन खुलेयता मूल्यवृद्धि भएको छ । विराटनगर–४ स्थित सान राँगा मासु पसलका सञ्चालक अर्बाज कुरेसी राँगा नै पाइन छाडेकाले मूल्यवृद्धि भएको बताउँछन् ।

लकडाउनअघि चार सय प्रतिकिलो पाइने राँगोको मासुको मूल्य अहिले चार सय पचास पुगेको छ ।

पहिले भारतबाट राँगा आयात हुन्थ्यो तर लकडाउनका कारण बन्द भयो,’ कुरेसी भन्छन्, ‘राँगाको अभाव छ, कतै पाइहाले खरिद नै महँगों पर्छ ।’ कोरोनाका कारण मासु खरिद गर्न आउने ग्राहकको संख्या कमी रहेको उनले बताए ।

लकडाउनपछि खसीको मासुुको मूल्य पनि आकाशिएको छ । विराटनगर गुद्री बजारस्थित खसी फ्रेस हाउसका सञ्चालक आमिर खान खसीको मासुको मूल्य प्रतिकिलो दुई सय रुपैयाँले बढेको बताउँछन् । ‘राम्रो मासु केजीको हजार रुपैयाँ पर्छ,’ उनले भने, ‘हड्डी मासु मिलाएर लाने हो भने चैं नौं सयसम्म पर्छ ।’

ग्राहकको कमी खासै नभए पनि खसीको आपूर्ति भने निकै कम भएको उनको अनुभव छ । ‘पहिले जसरी हामीकहाँ खसी नै आउँदैन,’ उनले भने, ‘ खसी नपाउने कारण मूल्य बढेको हो ।’

लकडाउनसँगै वृद्धि भएको माछाको मूल्यमा पनि कमी आएको छैन । विभिन्न जातको माछाको मूल्य फरक–फरक हुने गरेको भए पनि लकडाउन ताका माछाको मूल्यमा एक सय रुपैंयाँसम्म वृद्धि भएको थियो ।

विराटनगर–१२ की माछा व्यपारी कमलादेवी भारतबाट माछा आयत बन्द भएकाले माछाको मूृल्य आकाशिएको बताउँछिन् । ‘माछा लिन कता–कता जानुपर्छ जुन लकडाउनको बेला सम्भव नै भएन ।’ कामत भन्छिन्, ‘हामीले पनि ठूला व्यापारीले उपलब्ध गराएको माछा बेच्ने हो, अहिले हाम्रो खरिद नै महँगो छ ।’

तीन महिनाभन्दा बढी लकडाउन भए पनि सुँगुरको मासुमा मूल्य वृद्धि भएको छैन । लकडाउनअघि तीन सय ६० रहेको सुँगुरको मूल्य अहिले पनि उति नै रहेको बेलबारी–४ स्थित नीर मासु पसलका सञ्चालक नीरबहादुर राईले बताए । ‘गाउँघर र फर्मतिर सुँगुर उपलब्ध भएकाले मूल्य बढेको थिएन तर अब भने वृद्धि हुन सक्छ,’ राई भन्छन्, ‘सुँगुर पाइन छाडेको छ त्यसैले अब भने सुँगुरको मासुमा मूल्यवृद्धि हुन सक्छ ।’

बजारमा छैन अनुगमन

विराटनगरका बजारमा व्यापारीले आफूखुसी मूल्यवृद्धि गरिरहे पनि विराटनगर महानगरपालिका र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने मौन छन् ।

महानगरपालिका बजार अनुगमन समितिका संयोजक समेत रहेकी उप–मेयर इन्दिरा कार्की समितिले नियमित बजार अनुगमन गरिरहेको बताउँछिन् । उपमेयर कार्कीले अनुगमन भइरहेको बताए पनि बजारमा समितिको उपस्थिति न्यून छ ।

मूल्यमा एकरुपता नहुनु र व्यपारीले आफूखुसी मूल्य निर्धारण गर्नु बजारमा मुख्य समस्या रहेको भए पनि यस विषयमा दुवै निकायले खासै चासो दिएको देखिँदैन ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विराटनगरका कार्यालय प्रमुख हिमालय बराल अनुगमन गर्न कार्यालय सधैं तयार रहेको र कार्यालयले काम गरिरहेको बताए ।

‘लकडाउन अवधिमा मात्रै बजार अनुगमन र उजुरी परेका पसल, व्यवसाय र सम्बन्धित व्यापारीबाट हामीले १३ लाख जरिवाना संकलन गरेका छौं,’ प्रमुख बराल भन्छन्, ‘तर बीचमा महानगरपालिकाले बजार अनुगमन गर्ने काम बन्द गरेपछि भने हामी पनि थन्किएका छौं ।’

स्थानीय सरकार ऐन–२०७४ ले स्पष्टरुपमा स्थानीय बजार सञ्चालन, व्यवस्थापन, निगरानी, नियन्त्रण र किनबेच हुने सामानको मूल्य निर्धारण गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । वाणिज्य कार्यालयले महानगरको समन्वयविना कुनै काम, कारबाही गर्न नसक्ने प्रमुख बराल बताउँछन् ।

कुनै पनि पसल, व्यवसाय र व्यापारीले मूल्यवृद्धि ग¥यो भनेर कार्यालयमा लिखित निवेदन नआएसम्म कुनै पनि कारबाही गर्न नसक्ने उनले बताए । ‘अहिलेसम्म उपभोक्ताले मूल्यवृद्धि भयो भनेर लिखित निवेदन दिनुभएको स्थिति छैन बरु उल्टै व्यापारीहरुले हामीलाई ध्यानाकर्षणपत्र पठाउनुभएको छ,’ प्रमुख बराल भन्छन्, ‘खरिद मूल्यमा वृद्धि भएकाले हामीले बिक्री मूल्य बढाएका छौं भनेर विभिन्न व्यापारी संघले पत्र पठाउनुभएको छ ।’

Loading...