बाग्लुङ-पर्वत जोड्ने झोलुङ्गे पुल : विश्वकै लामो भएको दाबी

विराटनगर, १७ साउन । पर्वत र वाग्लुङ जिल्ला जोड्ने झोलुंगेपुल सञ्चालनमा आएको छ । विश्वकै लामो भएको दाबी गरिएको पुल सञ्चालनमा आएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विभाग मातहत सस्पेन्सन व्रिज डिभिजनले शुक्रबारदेखि ५ सय ६७ मिटर लामो पुल सर्वसाधारणका लागि खुला गरेको हो ।

डिभिजनका योजना प्रमुख इन्जिनियर कुमार थापाका अनुसार स्विटजरल्याण्डको चार्ल्स कोनेन झोलुंगे पुल ४ सय ९४ मिटरभन्दा ७३ मिटर लामो पुलले पर्वत र बाग्लुंग जिल्लालाई जोडेको छ ।

स्थानीय पाङबाट बाग्लुंगको बांगेचौरसँग जोडिएको पुलले सो क्षेत्रको पर्यटकीय, धार्मिक, आर्थिक, सामाजिक र शैक्षिक गतिबिधिलाई सहज बनाउने ईन्जिनियर थापाको भनाइ छ ।

डिभिजनले मुलुकभर लामो र विशिष्ट प्रकारको झोलुंगे पुल निर्माण गर्दै आएको बताएका थापाले हाल निर्माण गरिएको पुल विकास निर्माणका क्रममा मुलुकमै फरक पहिचान बनाउन सफल भएको बताए ।

विश्वको पहिलोलामो झोलुंगे पुलको दाबी गर्दै थापाले पुल हेर्न र पर्यटन विकासका लागि समेत यसले भोलिका दिनमा विश्वलाई आकर्षित गर्ने बताए ।

कालीगण्डकी नदीको मालढुंगाको जमिन सहतबाट १ सय ३१ मिटरमाथि पुल निर्माण गरिएको हो ।

एकपटकमा ६ सय १२ जना पदयात्रीको भार थाम्न सक्ने सो पुल निर्माणका लागि १० करोड ४५ लाख ८० हजार ५ सय ८२ रुपैया खर्च भएको डिभिजनले जनाएको छ ।

Loading...