अन्तिम खेलमा रोनाल्डोले आराम गर्नसक्ने

एजेन्सी, १७ साउन । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले सिरी ‘ए’ को अन्तिम खेलमा आराम गर्नसक्ने देखिएको छ ।

युभेन्टसका प्रशिक्षक मौरिसियो सार्रीले पोर्चुगिज स्टार रोनाल्डोलाई आराम दिने संकेत गरेका छन् ।

युभेन्टसले यस सिजनको सिरी ‘ए’को अन्तिम खेलमा रोमासँग खेल्देछ । युभेन्टसको मैदानमा हुने यो खेल नेपाली समयानुसार आज राति १२ः३० बजेबाट सुरु हुनेछ ।

लिगमा युभेन्टस ८३ अंकका शीर्ष स्थानमा छ भने रोमा ६७ अंकका साथ पाँचौं स्थानमा छ । युभेन्टसले दुई खेल अगाडि नै उपाधि जितिसकेको भएका कारण ऊ यस खेलमा सुखद अन्त्य गर्ने दाउमा छ ।

कोरोना भाइरस महामारीपछि सुचारु भएयता सिरी ‘ए’मा रोनाल्डोले अहिलेसम्म विश्राम लिएका छैनन् ।

रोनाल्डोले यो सिजन सिरी ‘ए’ मा ३१ गोल गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचिमा लाजियोका फरवार्ड किरो इम्मोबाइलभन्दा चार गोलले पछि छन् ।

आजको खेलमा सार्रीले रोनाल्डोलाई टिमबाहिर राख्नसक्ने देखिएको छ । च्याम्पियन्स लिगको तयारीका लागि रोनाल्डोलाई आराम दिने संकेत सार्रीको छ ।

‘मानसिक रूपले हेर्दा रोमाविरुद्धको खेल र आगामी शुक्रबारको अन्तराल ठूलो छ’, सार्रीले भनेका छन्, ‘तथापि, च्याम्पियन्स लिगका लागि धेरै बल चाहिन्छ । शनिबारको उत्सवमय खेल फिट हुनेले खेल्नेछन् ।’

‘अब हेरौं रोनाल्डोले यसलाई कसरी महशुस गर्छन्, उनी त्यस्ता खेलाडी हुन् जसले पूरा सिजनभरि धेरै खेलेको छ । आरान राम्से शुक्रबारबाट टिममा फर्किएका छन् र च्याम्पियन्स लिगमा उनले खेल्ने सम्भावना राम्रो छ ।’ उनले थपे ।

रोमासँगको खेलमा पाउलो डेबाला पनि हुनेछैनन् । केही समयअघि चोट बोकेका डेबाला हाल उपचाररत छन् ।

‘डेबाला अहिले मेडिकल स्टाफका साथमा छन्, सार्रीले भने, ‘उनी निको हुने क्रममा छन् । तर, मलाई थाहा छैन कि उनी कहिलेबाट टिममा फर्किने हुन् ।’

Loading...