
अमित राई
‘यो देशका नेताहरुमा जनताको हितको कार्य गरुँ भन्ने सोच नै छैन जस्तो छ । खाली भ्रस्टाचार, घुसपैठ मात्रै गर्छन् । सिस्टम नै छैन के हाम्रो देशमा !’ चिया पसलमा बसेर म र साथी चिया खाँदै गर्दा साथीले पत्रिकामा समाचार हेर्दै नेताहरुप्रति आक्रोश पोख्यो । ‘यो कोरोना जाँच्ने सामान नक्कली परेको समाचारजस्तो लाग्यो मलाई त ।’ म यता चिया खानमा मग्न थिएँ ।
‘हैन साथी, हामी पनि उस्तै छौं नि त ! त्यस्तै मान्छेलाई चुनेर पठाउँछौं । उम्मेदवारको मिठामिठा गफमा भुलेर, त्यसलाई नै भोट दिन्छौँ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल नि बिक्दैन भन्दै जो बढी बोल्छ उसलाई चुनेपछि यस्तै हो साथी ।’ मैले नि चियाको चुस्की लगाउँदै उसको जवाफ दिएँ ।
पत्रिकाबाट आँखा हटाउँदै मतिर फर्केर उनले भने, ‘हो नि साथी, यिनीहरुले धेरै बोलेर पिठो बिकाए अनि जनतालाई पिठो नै खुवाउँदैछन् अनि असली चामल चाहिँ आफू खान्छन्, हामीले असली चामल बेच्नेलाई बोल्न सकेन भनेर वास्तै नगरेको जस्तो पो लाग्न थाल्यो अब त । जो कम बोल्छ उसले गरेर देखाउँछ नि अमितजी, हैन र ?’
मैले पनि होमा हो थप्दै, हो नि ! तर सबै मान्छे एउटै हुँदैनन् । हामीले मान्छे चिनेर इमानदार र योग्य व्यक्तिलाई अर्को पटकबाट जिताउनु पर्छ । तर एउटा कुरा चाहिँ हो है, जो कम बोल्छ, उसले गरेर देखाउँछ । होला, उसँग भएको चामल नबिक्ला तर जति बिकाउँछ, असली बिकाउँछ ।’ गफैगफमा चिया सकेको पत्तै पाइएन । जिउ तनक्क तन्काउँदै पैसा तिरेर फेरि भेट्ने वाचाका साथ छुट्टिदै थियौँ पसलेको आवाज आयो– ‘अहिले चिया गफ, चुनाब आउँदा नेताले दिएको रक्सी र मासु गफ हुने होला नि फेरि !’