एजेन्सी, १७ साउन । इंग्लिस एफए कप फुटबलको फाइनल खेल आज (शनिबार) हुँदैछ । आज राति १०ः१५ बजेबाट सुरु हुने उपाधि भिडन्तमा चेल्सी र आर्सनलले प्रतिस्पर्धा गर्दैछन् ।
यो खेल वेम्ब्ली स्टेडियममा हुनेछ । जसमा दुवै टोली एक–अर्कालाई हराउँदै सिजनको पहिलो उपाधि जित्ने दौडमा रहेका छन् ।

यसअघि आर्सनलले सेमिफाइनलमा साविकको विजेतासमेत रहेको म्यानचेस्टर सिटीमाथि २–० गोलको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । यता, चेल्सी भने म्यानचेस्टर युनाइटेडमाथि ३–१ गोलकाे जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
आर्सनल एफए कपको सर्वाधिक धेरै १३ पटकको विजेता टोली हो । आर्सनलले आठौं स्थानमा रहेर यस सिजन प्रिमियर लिगको अन्त्य गर्यो । जसकारण उसले युरोपा लिगमा समेत स्थान बनाउन सकेन ।
तर, आजको खेलमा विजयी भएमा आर्सनलले युरोपा लिगमा स्थान बनाउने छ ।
चेल्सीले भने प्रिमियर लिगको चौथो स्थानमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गर्यो ।
यस सिजनको च्याम्पियन्स लिगमा पनि चेल्सीको सम्भावना बाँकी नै छ ।
उसले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा ३–० गोलले पराजित भएका कारण यो खेलमा ऊमाथि दबाब छ ।