अज्ञात समूहद्वारा दम्पत्तिमाथि आक्रमण : श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

महेन्द्रनगर, १७ साउन । कञ्चनपुरमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी दम्पत्तिमाथि आक्रमण गरेकाे छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए ।

उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए ।

उनले भने, “गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ । घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।”

उनले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।

“सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ ।” थापाले भने ।

Loading...