पेनाल्टी सुटआउटमा चम्क्यो पीएसजीको भाग्य, जित्यो सिजनको तेस्रो उपाधि

एजेन्सी, १७ साउन । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नवौं पटक फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा सर्वाधिक धेरै पटकको विजेता टोली पीएसजीले लियोनमाथि जित निकाल्दै उपाधि जितेको हो ।

पीएसजीको मैदानमा भएको खेलको निर्धारित समय र दुई पटक थपिएको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा, पीएसजीले ६–५ को जित निकाल्दै सिजनको तेस्रो उपाधि जितेको हो ।

पहिलो हाफमा दुवै टोली गोलरहित बराबरी खेलेका थिए । खेलको आठौं मिनेटमा नेयमारले गोल गर्ने सुनौलो मौका खेर फालेका थिए । सिल्भाबाट पाएको पासलाई उनले गोलमा परिणत गर्न सकेनन् ।

यस्तै खेलको ३९औं मिनेटमा मार्को भेराट्टीले नेयमारको पासमा गोल गर्ने मौका गुमाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डी मारिया गोल गर्न चुकेका थिए ।

त्यसपछि खेलको दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो पटक थपिएको अतिरिक्त समय पनि गोलविहीन बन्यो । दोस्रो पटक थपिएको अतिरिक्त समयमा पाहुना टोली लियोन १० खेलाडीमा सीमित बन्यो ।

खेलको ११९ औं मिनेटमा लियोनका राफेलले रातो कार्ड पाएका थिए । एन्जल डी मारियामाथिको खराब ट्याकलका कारण उनले कार्ड पाएका थिए ।

दुवै अतिरिक्त समयमा गोल हुन नसक्दा खेल ट्राइबेकरमा धकेलियो । जसमा, पीएसजीका एन्जल डी मारिया, मार्को भेराट्टी, लेयन्द्रो पेरेडेस, एन्डर हेरेर्रा, नेयमार र पाब्लो सराबियाले गोल गरे ।

लियोनका जोचिम एन्डरसन, कार्ल टोको एकाम्बी, म्याक्सेन्स काक्युरेट, थियागो मेन्डेस र हौसम अवरले गोल गर्दा ब्रेट्रान्ड ट्राओरेको पेनाल्टी मिस भयो ।

यससँगै पीएसजीले सिजनको तेस्रो उपाधि जितेको छ । यसअघि उसले फ्रेन्च कप र लिग वानको उपाधि जितिसकेको छ ।

पीएसजीले सेन्ट इटेन्नीलाई १–० गोलले हराउँदै फ्रेन्च कपको उपाधि जितेको हो । यस्तै कोरोना भाइरसका कारण लिग वान रद्द भएसँगै शीर्ष स्थानमा रहेको पीएसजीले उपाधि पक्का गरेको थियो ।

यस्तै पीएसजीले नवौं पटक फ्रेन्च लिग कपको उपाधि जितेको छ । सन् २०१४ यता उसले लगातार उपाधि जित्दै आएको थियो । तर, २०१९ मा भने स्ट्रार्सबर्गले टाइटल जितेको थियो ।

यसअघि पीएसजीले सेमिफाइनलमा रेम्स तथा लियोनले लिलेलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

लियोनविरुद्ध पीएसजीका फरवार्ड किलियन एम्बाप्पेले खेलेनन् । फ्रेन्च कपको फाइनल खेलमा घाइते भएका उनले दर्शकदीर्घामा बसेर खेल हेरेका थिए ।

Loading...