पीएसजी र लियोनको पहिलो हाफ बराबरी

एजेन्सी, १७ साउन । फ्रेन्च लिग कप फुटबलको फाइनलमा अहिले सर्वाधिक धेरै पटकको विजेता टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनबीच खेल भइरहेको छ ।

पीएसजीको मैदानमा जारी खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरी खेलेका छन् ।

खेलको आठौं मिनेटमा नेयमारले गोल गर्ने सुनौलो मौका खेर फालेका थिए । सिल्भाबाट पाएको पासलाई उनले गोलमा परिणत गर्न सकेनन् ।

यस्तै खेलको ३९औं मिनेटमा मार्को भेराट्टीले नेयमारको पासमा गोल गर्ने मौका गुमाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डी मारिया गोल गर्न चुकेका थिए ।

पीएसजी यस खेल जित्दै सिजनको तेस्रो उपाधि जित्ने योजनामा छ । यसअघि उसले फ्रेन्च कप र लिग वानको उपाधि जितिसकेको छ ।

पीएसजीले सेन्ट इटेन्नीलाई १–० गोलले हराउँदै फ्रेन्च कपको उपाधि जितेको हो । यस्तै कोरोना भाइरसका कारण लिग वान रद्द भएसँगै शीर्ष स्थानमा रहेको पीएसजीले उपाधि पक्का गरेको थियो ।

पीएसजी आठौं पटककाे विजेता टाेली हाे भने लियोनले एक पटक फ्रेन्च लिग कपकाे उपाधि जितेकाे छ ।

Loading...