काठमाडौं, १६ साउन । नेपाल टेलिकम सेवाका विषयमा सांसदहरुले प्रश्न उठाएका छन् । फोरजी सेवा विस्तार गर्न नसकेको विषयलाई लिएर सांसदहरुले प्रश्न उठाएका हुन् ।
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा उपस्थित भएका सांसदहरुले फोरजी विस्तारमा टेलिकमले काम गर्न नसकेको र अन्य सुविधा समेत प्रभावकारी नभएको बताएका हुन ।
निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलसँग नेपाल टेलिकम प्रतिस्पर्धा गर्न नसकेको भन्दै प्रश्न गरे ।
राज्यले नै निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि टेलिकमलाई निजीकरण गर्नु पर्ने सांसदहरुको सुझाव छ ।
फोरजी सेवा विस्तार हुन नसक्नुका वास्तविक कुराहरु बाहिर नआएसम्म टेलिकम नसुध्रिने सांसदहरुले बताए ।
सांसदहरुले गुणस्तरीय सेवा दिन नसक्ने टेलिकमको कामकारबाही छानविन गर्न समितिबाट उपसमिति गठन गर्नुपर्ने माग समेत गरेका छन् । बैठकमा नेकपा सांसद दामोदर भण्डारी, आशाकुमारी विक,यज्ञराज सुनुवार, कांग्रेस सांसद सञ्जय गौतम, रंगमती शाही र राप्रपा सांसद राजेन्द्र लिङ्देनले टेलिकमको सेवा विस्तारका विषयमा प्रश्न उठाएका थिए ।