हाम्रो कार्यशैली ‘लकिरका फकिर’ जस्तो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, १६ साउन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी गरेका छन् ।

मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिमाण आउन नसक्ने बताए ।

अहिलेको आवश्यकता, व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर आगाडि बढ्नुपर्ने रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’ जस्तो भयो । क्रिएटिभ ढंगले अगाडि बढ्न सकिएन भने त्यसले परिणाम दिन सक्दैन । क्रिएटिभ ढंगले जान अहिलेको आवश्यकता हो र यसैअनुसार अगाडि बढ्न आग्रह गर्दछु ।’

‘अहिलेको आवश्यकता भनेको व्यवहार, सोच र योजना बेलाबेला अपडेटेड गर्ने हो । त्यस्तो गर्न सकिएन भने व्यवहार, नीति र योजनाहरू आउटडेटेड हुन्छन्,’ उनले थपे ।

हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेटेड’ हुनैपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति हुन नसकेको बताए ।

राष्ट्रिय गौरवका आयोजनाहरू आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उनले बताए । आयोजनाहरूको काम अगाडि बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उनले बताए ।

Loading...