झ्याल फुटाएर सिसाले आफैंलाई घोपेका युवकको उपचारको क्रममा मृत्यु

भद्रपुर, १६ साउन । झापाको धुलाबारीस्थित सनराइज सुधार केन्द्रमा बसेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सुधार केन्द्रमा बसेकै बेला झ्यालको सिसा फुटाएर टुक्रा सिसाले आफ्नै पेटमा घोपेका हल्दिबारी गाउँपालिका–२ का २५ वर्षीय प्रकाश खरेलको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी राकेश थापाका अनुसार उनको बिहीबार विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

लागूऔषध प्रयोग गर्दै आएका खरेललाई १३ असारमा सुधार केन्द्र ल्याइएको थियो । १५ असारमा उनले झ्यालको सिसा फुटाएर भागेका थिए । ३ साउनमा फेरि सोही सुधार केन्द्रमा ल्याइएका उनले आएकै दिन सिसाको टुक्राले आफ्नै पेटमा घोपेको डीएसपी थापाले बताए ।

Loading...