शनिबारदेखि दुई सातासम्म विराटनगरमा लकडाउन

विराटनगर, १६ साउन । विराटनगरमा भोलि शनिबारदेखि लकडाउन गरिने भएको छ ।

भोलिदेखि दुई सातासम्मका लागि विराटनगरमा लकडाउन गरिने निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण बढेका कारण लकडाउन गर्ने निर्णय भएकाे उनले बताए ।

उनका अनुसार शुक्रबार राति १२ बजेबाटै महानगरपालिका क्षेत्रभित्र १४ दिन लकडाउन गर्ने निर्णय भएकाे हाे ।

लकडाउन थप कडा हुने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

विराटनगर महानगरपालिकाले निकालेको विज्ञप्तिका अनुसार खाद्यान्न, तरकारी तथा फलफूल पसलहरू (पुरानो र नयाँ गुद्रि बजारबाहेक), औषधि पसल, दूध, पानी, ग्यास, इन्धन, अक्सिजन, वारुण यन्त्र सेवा, एम्बुलेन्स सेवा, अस्पताल तथा नर्सिङ होम (ओपिडि सेवाबाहेक), आइपीसीबाट आउनेजाने माहबाहक सवारीसाधनहरू, सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चारलगायत अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू महानगर क्षेत्रभित्र बन्द गरिएको छ ।

विराटनगरमा कोरोना संक्रमितको संख्या सय नाघेको छ ।

शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १०७ पुगेको हो ।

शुक्रबार विराटनगर–५ का २ जना, विराटनगर–२ का २ जना, ६ का १ जना, ११ का २ जना, १२ का २ जना १७ का २ जना र अन्य १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Loading...