लकडाउनबाट क्षति भोगेका प्रदेश १ का किसानलाई ८ करोड अनुदान

विराटनगर, १६ साउन । कोभिड १९ का नियन्त्रणका लगि गरिएको लकडाउनका कारण क्षति पुगेका प्रदेश एकका कृषकलाई आठ करोड अनुदान प्रदान गरिएको छ ।

बजारीकरणमा अवरोध भइ कृषि उद्यम तथा व्यवसायाम पुगेको क्षति न्यूनीकरण गर्न प्रदेश १ सरकारले व्यवसायिक कृषकहरूलाई प्रदेश १ सरकारले ८ करोड राहत वितरण गरेको हो ।

कोभिड–१९ को लकडाउनले उत्पादन बिक्री गर्न नपाएका किसानलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवर्द्धन राहत कार्यविधि बनाएर राहत वितरण गरेको हो ।

प्रदेशका १६ सय ८० जना किसानलाई ७ करोड ९१ लाख ७४ हजार वितरण गरिएको मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले जानकारी दिए ।

प्रदेश सरकारले जिल्लाका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रबाट किसानलाई रकम उपलब्ध गराएको हो ।

कृषितर्फका किसानलाई कृषि विकास निर्देशनालय मातहतका निकायबाट राहत रकम वितरण गरिएको थियो । कृषि ज्ञान केन्द्र धनकुटा र तेह्रथुमबाट २ सय १ किसानलाई ६४ लाख ९१ हजारले वितरण गरेको छ ।

त्यसैगरी कृषि ज्ञान केन्द्र झापाबाट ६ सय ६७ किसानलाई १ करोड ५६ लाख २३ हजार वितरण भएको छ ।

खोटाङमा १ कृषकले २९ हजार पाएका छन् । त्यसैगरी संखुवासभा ज्ञानकेन्द्रबाट १४ कृषकलाई एक लाख ८ हजार वितरण गरिएको छ ।

त्यसैगरी सुनसरी ज्ञान केन्द्रबाट मोरङ र सुनसरीका ३ सय ७५ किसानलाई एक करोड ५२ लाख २१ हजार वितराण गरिएको छ ।

उदयपुरका १३ कृषकलाई ७ लाख ४२ हजार वितरण गरिएको छ । इलामका ३८ कृषकलाई त्यहाँको कृषि ज्ञान केन्द्रले २६ लाख ६० हजार वितरण गर्‍यो । पाँचथर ताप्लेजुङ कृषि ज्ञानकेन्द्रबाट पाँचथरका एक किसानले ३० हजार पाएको मन्त्रालयले जनाएको छ ।

पशुपन्क्षी र माछापालक किसानलाई पशुपन्क्षी तथा मत्स्यविकास निर्देशनालय मातहतका निकायबाट राहत वितरण भयो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र पाँचथरले पाँचथर र ताप्लेजुङका १६ किसानलाई १४ लाख १६ हजार वितरण गरेको थियो ।

त्यस्तै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले धनकुटा र तेह्रथुमका एक सय कृषकलाई एक करोड ३० लाख ४९ हजार वितरण गर्‍यो । यता संखुवासभा केन्द्रले १० कृषकलाई ४ लाख १९ हजार वितरण गरेको छ ।

साथै उदयपुर अस्पतालले उदयपुर र खोटाङका एक सय दुई कृषकलाई ६३ लाख ३० हजार वितराण गरेको छ । मोरङमा ३४ किसानलाई ५२ लाख ३६ हजार राहत वितराण गरेको छ ।

सुनसरी केन्द्रले ८६ किसानलाई ६४ लाख ११ हजार बाँडेको छ । ओखलढुङगामा ५ कृषकलाई ४ लाख १४ हजार राहत वितराण गरियो । झापा केन्द्रबाट १६ किसानलाई १३ लाख २४ हजार बाँडिएको छ ।

उक्त राहत रकम आगामी दिनमा व्यवसाय सञ्चालन गर्न उपयोग हुने गरी उपलब्ध गराइएको पोखरेलले जानकारी दिए ।

जसमा कृषि व्यवसायतर्फ चार करोड ४२ लाख, १६ हजार र पशुपन्क्षीतर्फ ३ करोड ४६ लाख ३ हजार राहत उपलब्ध गराइएको उनले जानकारी दिए । विभिन्न वित्तीय संस्थाबाट ऋण लिएका किसानको ४ महिनाको व्याज पनि तिरिदिएको उनले बताए ।

उक्त राहत रकमका लागि कृषि प्रविधिले तयार गरेको प्रतिवेदन स्थानीय वडा कार्यालयबाट प्रमाणित भएर अनिवार्यरूपमा आउनुपर्ने छ ।

Loading...