जिदानलाई सिटीविरुद्धका खेलअघि खेलाडी टुंगो लगाउन समस्या

एजेन्सी, १६ साउन । प्रशिक्षक जिनेदिन जिदान र उनको टोली रियल मड्रिड च्याम्पियन्स लिग ट्रफी उचाल्ने लक्ष्यसहित प्रशिक्षणमा फर्किसकेको छ ।

च्याम्पियन्स लिगको अन्तिम सोह्रको पहिलो लेगमा रियल इंग्लिस क्लब म्यानचेष्टर सिटीसँग घरेलु मैदानमा २–१ गोलान्तरले स्तब्ध बनेको थियो ।

सान्टियागो बर्नाबेउमा भएको खेलको नतिजालाई उल्टाउँदै रियल च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन चाहन्छ र यसको तयारीका लागि रियलका प्रशिक्षक जिदानसँग आठ दिन मात्रै बाँकी छ ।

नतिजा उल्टाउन रियललाई त्यति सहज भने हुने छैन । आफ्नो भरपर्दा डिफेन्डर एवम् क्लबका कप्तान सर्जियो रामोस सिटीविरुद्धको खेलका लागि अनुपस्थित हुने भएपछि रियल झनै दबाबमा छ ।

यता इंग्लिस प्रिमियर लिग उपाधि जितेर ह्याट्रिक गर्नबाट चुकेको म्यानचेष्टर सिटी जसरी भए पनि च्याम्पियन्स लिग जित्न चाहन्छ । रियललाई घरेलु मैदानमा हराएको सिटीलाई अन्तिम आठमा स्थान सुरक्षित बनाउन बराबरीको नतिजा नै काफी हुनेछ ।

थिवाउट कोर्टुवा, डानी कारभाजल, एडर मिलिटाओ, कासिमेरो, टोनी क्रुज र बेन्जेमा जस्ता खेलाडीको साथ रियललाई भएपनि अन्य खेलाडीको टुंगो लगाउन प्रशिक्षक जिदानलाई हम्मे परिरहेको छ । सिटीविरुद्धको खेलअघि जिदानले टुंगो लगाउन पर्ने स्थान र त्यसका खेलाडी यस प्रकार छन्ः

फर्लान्ड मेन्डी वा मार्सेलोः लेफ्ट ब्याक

जिदानलाई रियल मड्रिडको डिफेन्समा भएको एक मात्रै द्वविधा मेन्डी वा मार्सेलो हो । मार्सेलो घाइते भएपछि रियलको नियमित खेलाडीका रूपमा मैदान उत्रेका मेन्डीको ला लिगा सिजनमा प्रदर्शन सन्तोषजनक रह्यो ।

उनले क्लबका लागि गोल गर्न समेत भ्याए । तर, यतिबेला मार्सेलो फिट भएका छन् र उनी सिटीविरुद्धको खेलका लागि उपलब्ध हुनेछन् । लेफ्ट ब्याकमा दुई उत्कृष्ट खेलाडी भएपछि कसलाई खेलाउने भन्ने विषयमा जिदानले टुंगो लगाउन सकिरहेका छैनन् ।

डिफेन्डर भएर पनि रियलको अट्याकिङमा प्रभावकारी मद्दत गर्ने सक्ने मार्सेलो वा सिटीको आक्रमणको गतिलाई रोक्न सक्ने मेन्डीमध्ये जिदानले मैदानमा कसलाई उतार्ने हुन्, त्यो त अगस्ट ८ मा हुने दोस्रो लेगमा खेलमा मात्रै थाहा हुनेछ ।

इस्को वा फेडे भाल्भर्डेः मिडफिल्ड

सिटीविरुद्धको खेलमा जिदानले रियललाई ४–४–२ को फर्मेशनमा मैदान उत्राने हो भने उनलाई इस्को वा भाल्भर्डेको खाँचो पक्कै पर्छ । मिडफिल्डमा क्यासेमिरो, टाेनी क्रुस र लुका मोड्रिकबाहेकको स्थानमा खेलाउन जिदानका अगाडि दुई विकल्प छन् । भाल्भर्डे रक्षात्मक तरिकाले खेल्न माहिर छन् भने इस्कोले रियलको अट्याकिङमा प्रभावकारी प्रदर्शन गर्न सक्छन् ।

इडेन हाजार्ड वा भिनिसियस जुनियरः फरवार्ड

यसै सिजन रियल आएका हजार्डले चोटग्रस्त रहँदै अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेनन् । यता उनको स्थानमा खेलेका युवा खेलाडी भिनिसियसको प्रदर्शन भने उत्कृष्ट रह्यो । बेल्जियन स्टार फिट रहेको खण्डमा सिटीविरुद्ध उनी नै खेल्ने सम्भावना उच्च छ तर हाजार्ड खेल्नका लागि तयार हुन अझै समय लाग्न सक्ने देखिन्छ । यदि हाजार्ड खेलका लागि उपलब्ध नहुने हो भने रियलको अग्रपंक्ति सम्हाल्न भिनिसियस तयारी अवस्थामा छन् ।

एसेन्सियो वा रोड्रिगोः फरवार्ड

रियल ४–३–३ को फर्मेशनमा मैदान उत्रने हो भने अग्रपंक्तिमा जिदानका लागि दुई खेलाडी, एसेन्सियो र रोड्रिगो उपलब्ध हुनेछन् । चोटका कारण यो सिजन गुमाएका एसेन्सियो लकडाउनका कारण सिजन लम्बिएपछि अन्तिम समयमा क्लबका लागि उपलब्ध भएका थिए ।

भ्यालेन्सियाविरुद्धको खेलबाट ला लिगामा फर्किएका एसेन्सियोले नौ खेलमा तीन गोल र एक असिस्ट गरि सकेका छन् ।

यता रियलबाट यो सिजन कूल २८ खेल खेलेका रोड्रिगोले नौ गोल र दुई असिस्ट गरेका छन् । रियलका लागि च्याम्पियन्स लिगमा चार खेल खेलेको रोड्रिगोको नाममा चार गोल र दुई असिस्ट छ ।

च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत टर्किस क्लब गालातासरेविरुद्धको खेलमा ह्याट्रिकसहित एक असिस्ट गर्दै सनसनी मच्चाएका रोड्रिगो वा इन्ज्यूरीपछि भर्खरै फिट भएर मैदान फर्किएका एसेन्सियोमध्ये जिदानले कसलाई फरवार्डको जिम्मा दिने हो त्यो हेर्न बाँकी नै छ ।

Loading...