एजेन्सी, १६ साउन । अक्सफोर्ड युनिभर्सिटीले बनाएको खोपको प्रभावकारीता अर्को वर्ष मात्रै थाहा पाइने बताइएको छ ।

कोरोना भाइरसको व्यवहार असाध्यै अप्रत्यासित भएकाे र यसबाट बच्नका लागि खोपको एउटा डोज मात्र पर्याप्त हुने वा नहुने भनेर अहिले नै जानकारी दिन नसकिने कम्पनीका मुख्य कार्यकारी अधिकारी पास्कल सोरियोले बताएका छन् ।
खोपले कम्तीमा १२ महिनासम्म काम गर्ने आशा राखिएको छ । यद्यपि, खोप दुई वा सोभन्दा बढी समयका लागि पनि प्रभावकारी हुनसक्ने अनुमान लगाइएको छ ।
यदि, खोपको असर एक वर्षसम्म मात्रै रहेमा अन्य फ्लूका खोपहरू जस्तै वार्षिक रूपमा खोपको डोज दिन आवश्यक हुन्छ ।
सुरुआती ट्रायलमा खोपले शरीरको रोग प्रतिरोधी शक्तिलाई रोगसँग लड्न सिकाउन सक्ने पत्ता लागेको थियो ।
खोपको अन्तिम ट्रायलको नतिजा चाँडै नै आउने भएको छ ।
ट्रायलसँग सम्बन्धित डाटाका अनुसार खोपको एउटा डोजको तुलनामा दुई डोज थप प्रभावकारी हुनसक्छ ।
योजनाअनुरुप काम भएमा सन् २०२० को अन्तिमसम्म खोप वितरण गर्ने कम्पनीले आशा राखेको छ ।