लागूऔषध काराेवारी पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण, तीन प्रहरी घाइते, दुई राउण्ड हवाई फायर

पाँच जना पक्राउ

विराटनगर, १६ साउन । लागूऔषध कारोवारीलाई पक्राउ गर्न गएको प्रहरी माथि आक्रमण भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–१ खोरैयामा बिहीबार राति प्रहरी टोलीमाथि आक्रमण भएको हो । आक्रमणबाट तीनजना प्रहरी घाइते भएका छन् । स्थीति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

लागूऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्री गर्ने काम भइरहेको सूचनाका आधारमा नियन्त्रणमा लिन गएको जिल्ला प्रहरी कार्यालय मोरङको टोलीमाथि गाउँलेले घेरा हालेर आक्रमण गरेका थिए ।

लागूऔषध नियन्त्राका लागि लिनका लागि मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रहरी निरीक्षक मिलन थापाको नेत्रृत्वमा सादा पोसाकको टोली परिचालन गरेका थिए ।

थप मद्धतका लागि गएको हतियारसहितको टोली पुग्न नपाउँदै सादा पोसाकको टोलीमाथि आक्रमण भएको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रहरी पुग्न साथ स्थानी बासिन्दा लाठी, भाला र खुकरी लिएर आक्रमणमा उत्रिएका थिए ।

गाउँलेको आक्रमणबाट प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी घाइते भएको एसपी खड्काले बताए ।

घाइतेको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । बस्नेतको टाउकोमा सातवटा टाँका लगाइएको छ । अरु घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

प्रहरी आएको थाहा पाएर लागुऔषधको अवैध कारोबार गर्ने व्यापारीले गाउँलेलाई उकासेर आक्रमण गर्न लगाएको प्रहरीको दाबि छ ।

आक्रमण गर्दै प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायर समेत गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

‘ प्रहरीको हतियार खोस्न खोजेपछि हवाई फायर भएको हो ।’ उनले भने ‘‘तत्काल हवाई फायर नगरेको भए आक्रमणबाट थप क्षति बेहोर्नु पर्ने अवस्था आउने थियो ।’

ठूलो संख्यामा परिचालित प्रहरी टोलीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । आक्रमण भएपछि प्रहरीले स्थानीय स्तरमा स्टोर गरेर राखेको भनिएको लागुऔषध भने बरामद गर्न सकेन । प्रहरीले लागुऔषधको अवैध कारोबार गर्नेहरुको पहिचान गरेर खोजी थालिएको जनाएको छ ।

घटनामा संलग्नहरु ३४ वर्षीय बलराम ऋषिदेव, २६ वर्षीय देव ऋषिदेव, २१ वर्षीय वीरेन्द्र ऋषिदेव, २५ वर्षीय महादेव ऋषिदेव र चन्देश्वर ऋषिदेवलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।

Loading...