विराटनगरको म्याक्स अस्पतालमा भेटिए कोरोना संक्रमित

विराटनगर, १६ साउन । विराटनगर महानगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार साँझ एक पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले संक्रमित मध्ये ३६ वर्षिय पुरूष म्याक्स इन्टरनेशनल अस्पतालका कर्मचारी रहेकाे सूचना आएकाे बताए ।

३० वर्षिय संक्रमित महिला विराटनगर – १५ की हुन ।

यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । संक्रमित मध्ये ३० जना उपचार पछि डिस्चार्ज भएका छन् ।

७ साउनयता विराटनगरमा ६८ जना कोरोना संक्रमित थपिएका छन् । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा देखिएका अधिकांश नयाँ संक्रमितको ट्राभल हिस्ट्री छैन् ।

संक्रमित हाम्रो कर्मचारी होइनन् : म्याक्स अस्पताल

म्याक्स इन्टरनेशनल अस्पताल विराटनगरले आफ्नो अस्पतालका कर्मचारीलाई कोरोना संक्रमण नदेखिएको बताएको छ ।

अस्पताल प्रशासनले आफ्नो कर्मचारी नभई सेवाग्राहीलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

‘संक्रमित व्यक्ती हाम्रो कर्मचारी होइनन्, सेवाग्राही हुन ।’ म्याक्स इन्टरनेशनल अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले भने ‘ कर्मचारीको रिपोर्ट नेगेटिभ आएको छ ।’

Loading...