विराटनगर, १६ साउन । मोरङको बूढीगंगा गाउँपालिका–२ मा बिहीबारराति भएको यात्रु बहाक बस दुर्घटनामा परेर मृत्यु भएका युवाको पहिचान खुलेको छ ।
मृतक धनकुटाको साँघुरीगढी गाउँपालिका –७ का २९ वर्षीय जोशन भनिने जसबहादुर राई रहेको प्रहरीले जनाएको छ ।
साथबाट परिचय खुल्ने कुनै पनि कागजपत्र फेला नपर्दा उनको पहिचान खुल्न समय लागेको हो ।
दुर्घटनास्थलमा परेका राईलाई तत्काल उद्धार गरेर उपचारका लागि टंकीसिनवारीस्थित विराट टिचिङ अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनामा परेर गर्भवती महिलासहित चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर छ ।
घाइते भएकी अन्दाजी ४० वर्षीया महिलाको पहिचान खुलेको छैन । विराटमै उपचाररत उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–७ का २५ वर्षीय रामकुमार राई र २८ वर्षीया कल्पना राई, रामप्रसाद राई गाउँपालिकाका–१ की ३५ वर्षीय मुना राई घाइते भएका छन् ।
तीनै जनाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये रामकुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार कल्पना पाँच महिनाकी गर्भवती हुन् । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमोन यातायातको बस ८ः३० बजेतिर आरती स्ट्रिप्स फ्याक्ट्री अगाडि दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए ।
उनकाअनुसार लेन छुट्याउन सडकको बीचमा राखिएको डिभाइडरमा ठोक्किएर बस दुर्घटनामा परेको हो ।
बसका चालक अहिलेसम्म सम्पर्कविहीन छन् ।
कसले बस चलाएको थियो भन्ने हालसम्म नखुले पनि दुर्घटनामा परेर मृत्यु भएका युवा चालक भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।