पहिलो खेलमा आयरल्याण्डमाथि इंग्ल्याण्डको जित

एजेन्सी, १६ साउन । आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा इंग्ल्याण्डले जित निकालेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डमाथि छ विकेटको जित निकालेको हो ।

साउथह्याम्पटनमा आयरल्याण्डले दिएको १७३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

इंग्ल्यान्डलाई जिताउन साम बिलिङ्सले अविजित रहँदै ६७ रन बनाए भने कप्तान इयान मोर्गनले अविजित ३६ रन जोडे । यसैगरी जेम्स भिन्सले २५ रन जोड्दा जासन रोयले २४ रन बनाए ।

बलिङतर्फ आयरल्याण्डका क्रेग योङले २ विकेट झारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ४४.४ ओभरमा १ सय ७२ रन बनाउँदै अलआउट भयो ।

आयरल्याण्डका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । निकै कमजोर सुरुआत गरेको आयरल्याण्डले सात रन हुँदा दुई विकेट गुमाएको थियो ।

उसका ओपनर पउल स्ट्रलिङ दुई रनमा आउट भए भने कप्तान एन्डी बल्बेरिनले तीन रन बनाए । यस्तै ग्यारेथ डेलानेले २२ रन बनाउँदा केभिन ओब्राइनले पनि २२ रन जोडे ।

आयरल्याण्डका लागि कुर्टिस काम्फेरले ५९ रन बनाए भने एन्डी म्याक्ब्रेनले ४० रन जोडे ।

आयरल्याण्डलाई सस्तैमा समेट्न डेभिड वेलीले पाँच तथा सकिव महमुदले दुई विकेट लिए ।

जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

Loading...