सिजनको तेस्रो उपाधि जित्ने दाउमा पीएसजी, आज लियोनसँग भिड्दै

एजेन्सी, १६ साउन । फ्रेन्च लिग कप फुटबलको फाइनल खेल आज हुँदैछ । नेपाली समयानुसार राति १२ः५५ बजेबाट सुरु हुने फाइनलमा सर्वाधिक धेरै पटको विजेता टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनसँग खेल्दैछ ।

यो खेल पीएसजीको मैदानमा हुनेछ । पीएसजी सिजनको तेस्रो उपाधि जित्ने योजनाका साथ मैदानमा उत्रिनेछ । यसअघि उसले फ्रेन्च कप र लिग वानको उपाधि जितिसकेको छ ।

पीएसजीले सेन्ट इटेन्नीलाई १–० गोलले हराउँदै फ्रेन्च कपको उपाधि जितेको हो । यस्तै कोरोना भाइरसका कारण लिग वान रद्द भएसँगै शीर्ष स्थानमा रहेको पीएसजीले उपाधि पक्का गरेको थियो ।

अब, आज ऊ लियोनमाथि जित निकाल्दै नवौं पटक फ्रेन्च लिग कपको उपाधि जित्ने दाउमा छ ।

यसअघि उसले आठ पटक उपाधि जितिसकेको छ । सन् २०१४ यता उसले लगातार उपाधि जित्दै आएको थियो । तर, २०१९ मा भने स्ट्रार्सबर्गले टाइटल जितेको थियो ।

यता, लियोन भने पीएसजीलाई उसैको घरमा हराउँदै दोस्रो पटक उपाधि जित्ने दाउमा छ । यसअघि उसले सन् २००४ मा उपाधि जितेको थियो ।

यसअघि पीएसजीले सेमिफाइनलमा रेम्स तथा लियोनले लिलेलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

आजको खेलमा पीएसजीका फरवार्ड किलियन एम्बाप्पे हुने छैनन् । उनी फ्रेन्च कपको फाइनल खेलमा घाइते भएका थिए ।

Loading...