काठमाडौं, १५ साउन । सैनिक कल्याणकारी कोषको सम्पत्ति १ अर्ब ६१ करोड पुगेको छ ।
शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको उक्त कोषमा हाल करिब ४५ अर्ब ८७ करोड नगद मौज्दात छ ।
कोषको यो तथ्याङ्क असार मसान्तसम्मको हो । कोषबाट सञ्चालित विभिन्न कल्याणकारी कार्यमा अहिले पाँच अर्ब ७४ करोड लगानी छ ।
शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम नै कल्याणकारी कोषको मुख्य आयस्रोत हो ।
अहिले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका १२ वटा शान्ति मिसनमा पाँच हजार ९१ नेपाली शान्ति शैनिक परिचालित छन् ।
धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले चौथो वरियतामा छ । राष्ट्रसङ्घबाट अनुरोध भई आएमा १० हजारको सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जनाइसकेको छ ।
एक वर्षमा सात अर्ब २९ करोड
कोषको यथार्थ सम्पत्तिमा गत आवमा करिब सात अर्ब २९ करोड वृद्धि भएको छ । विसं २०७६ असार मसान्तमा उक्त कोषको मौज्दात ४४ अर्ब २१ करोड ९० लाख ४० हजार थियो ।
कोषको रकम सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र निजका आश्रित परिवारको जीवनस्तर उकास्ने कल्याणकारी कार्य, सेनाका आवश्यकताका सामग्रीको आपूर्ति र उत्पादन र शान्ति सेनामा सम्मिलित हुन जाँदा आवश्यक पर्ने समान र खर्चका लागि प्रयोग हुँदै आएको छ । रासस