विराटनगर, १५ साउन । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगरमा कोरोना संक्रमितको संख्या ९५ पुगेको छ ।
बिहीबारसम्म दुई हजार पाँचसय ६२ जनाको पीसीआर जाँच गर्दा ९५ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार संक्रमित मध्ये ३० जना उपचार पछि संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । अन्य संक्रमित आइसोलेशनमा छन् ।
उनका अनुसार बिहीबार मात्र विराटनगरमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।
७ साउनयता विराटनगर महानगरपालिका भित्रका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये अधिकांश ट्राभल हिस्ट्री नभएकाहरु छन् ।
समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि महानगरपालिकामा लकडाउन गरेर परीक्षणको दायरा बढाउने माग उठिरहेको छ ।
प्रदेश सरकार र संघिय सरकारले समहति नदिएका कारण विराटनगरमा लकडाउन भएको छैन् ।
लकडाउन नभएका कारण समुदायमा संक्रमण तिब्र गतिमा फैलने सम्भावना रहेको महाशाखा प्रमुख कार्कीले बताए । ‘लकडाउन गरेर समुदायमा परीक्षण गर्न सकिएन भने जोखिम अझ बढ्छ ।’ कार्की भन्छन् ‘ समुदायमा परीक्षणको दायरा बढाउन लकडाउन गरिनुपर्छ ।’