
यज्ञ अधिकारी
विराटनगर १५ साउन । दुई महिनायता गाईबस्तुमा देखा परेको नयाँ प्रकृतिको रोगको पहिचान भएको छ । प्रदेश १ मा गाईबस्तुमा तीव्रगतिमा फैलिरहेको भाइरस ‘लम्पिस्किन’ भएको पशुपक्षी अन्वेषण प्रयोगशाला विराटनगरले पुष्टि गरेको हो ।
मंगलबार केन्द्रीय पशुपछिंको अन्वेषण प्रयोगशालाबाट रोग पत्ता लगाएको विराटनगरको प्रयोगशाला प्रमुख डा. सञ्जयकुमार यादवले जानकारी दिए ।
उनले संक्रमित गाईबस्तुको नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा पठाएपछि उक्त रिपोर्ट आएको बताए । यसको परीक्षण पीसीआर विधिबाट हुने गरेको उनले जानकरी दिए ।
यो रोग गाईबस्तुमा देखिएको नयाँ रोग तीव्रगतिमा फैलिरहेको छ । भाइरसजन्य महामारी भएकाले यसको उपचार छैन । उनले रोगको लक्षणको आधारमा उपचार भइरहेको बताए । ‘उपचारको गाइडलाइन बनाएर त्यसैअनुसार उपचार गर्न पशु प्रविधिकहरुलाई जानकारी गराएका छौं,’ उनले भने ।
भाइरसले गाईबस्तुको छालामा गाँठागुठी निस्कने र त्यसैबाट घाउ भन्ने उनले बताए । त्यो घाउ झनै गोहिरिँदै गएर व्याक्टेरल इन्फेक्सन भएर पिप र रगत बग्नेसम्मको हुने गर्छ । उनले भने, ‘भाइरसले गाईबस्तुको शरीरको छाला र मासुमा घाउ नै घाउ बनाएर कुरुप बनाइदिन्छ ।’ भाइरसको कारणले छाला र माशुको गुणस्तर नै खत्तम बनाइदिने उनले बताए ।
यो रोगबाट गाईबस्तुको मृत्युदर भने ज्यादै कम रहेको डा. यादवले बताए । किसानले आर्थिक क्षति भोग्नु परे पनि पशुधन नै नष्ट हुने अवस्था कम रहेको उनले बताए ।
यो रोग स्थानीय जातका गाईबस्तुमा भन्दा आयातित प्रजातिका गाईबस्तुमा बढी लाग्ने गरेको पशुचिकित्सकहरुले बताएका छन् ।
रोगबाट बढी आयातित प्रजातिका पशुहरु गम्भीर हुने गरेको छन् । मृत्युदर पनि त्यस्तै प्रजातिका पशुको बढी रहको छ ।

संक्रमित पशुको तथ्याङ्क छैन
स्थानीय तहले संक्रमित बस्तुको बारेमा जानकारी नगराउँदा प्रदेशमा कति बस्तुमा संक्रमण भयो भन्न सक्ने अवस्था नरहेको प्रयोगशाला प्रमुख डा यादवले बताए ।
संक्रमण फैलिरहेको अवस्थामा स्थानीय तहहरुलाई सबै माध्यमबाट जानकारी गराउन अनुरोध गरे पनि जानकारी नगराएको उनले बताए । पटक–पटक ताकेता गर्दा पनि जानकारी पाउन नसकेको उनले बताए ।
मोरङ जिल्लामा मात्र यो रोगबाट तीन हजार बढी गाईबस्तुमा संक्रमण भइसकेको उनको अनुमान छ । ४० वटा गाईबस्तु मरेको हुन सक्ने उनले बताए ।
मोरङमा गाईबस्तुको संख्या चार लाख आठ हजार र भैंसीराँगाको संख्या एक लाख आठ हजार रहेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले बताएको छ ।
प्रदेश १ मा गाई, गोरु, बाछाबाछी गरेर करिब २० लाख रहेको उनले बताए । प्रदेशमा भैंसी, राँगा र पाडापाडीको संख्या नौ लाख रहेको छ ।
झिँगाले फैलाउने यो रोग मानिसमा सर्दैन
भाइरसले सुरुमा पशुको शरीरमा जिउभरि गाँठोजस्तो देखिने, खुट्टा सुन्निने, लङ्गडोपन हुनेजस्ता लक्षण देखिने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका पशु चिकित्सक राधवेन्द्र तिवारीले बताए ।
यसका अन्य लक्षणमा आँखा पाक्ने, थुनिलो हुन सक्ने रहेको तिवारीले जानकारी दिए । गाईबस्तु तुहिने, दुध घट्ने र दुब्लाउने जस्ता समस्या देखिन्छन् । यो रोगका कारण गाई बाँझोपनको सम्भावना बढी हुने भएकाले किसानले आर्थिक नोक्सानी व्यहोर्नु पर्ने उनले बताए ।
रोग झिँगाको माध्यमबाट फैलने उनले जानकारी दिए । माउगाईबाट बच्चामा यो रोग सर्ने सम्भावना बढी रहेको उनले बताए । उनका अनुसार वर्षाको समयमा रोग बढी देखिने गर्छ । लम्पिस्किन डिजिज अहिलेसम्म मानिसमा पशुबाट नसरेको उनले बताए ।
भाइरल रोगको नेपालमा भ्याक्सिन नभएकाले लक्षणको आधारमा उपचार गर्ने गरेको डा. तिवारीले बताए ।
पशुको शरीरमा भएको घाउमा दबाईको प्रयोग गर्ने गरेको उनले बताए । उपचार नभएकाले पशुमा संक्रमण हुन नदिने उपाय किसानले अपनाउनु पर्ने उनको सुझाव छ । रोग नियन्त्रणका लागि झिँगा नियन्त्रण गर्ने । डिसइन्फेक्सन प्रयोग गर्र्नुपर्ने जस्ता सुझाव उनले दिए ।