नेटवर्किङ व्यवसाय अध्ययन गर्न उपसमिति गठन

काठमाडौ, १५ साउन । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

सांसद सोमप्रसाद पाण्डे संयोजक रहने गरी समितिले नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्रीका विषयमा अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ, अमृता अग्रहरी, प्रकाश रसाइली र सरिताकुमारी गिरी रहेका छन् । समिति सभापति विमलप्रसाद श्रीवस्तवका अनुसार उपसमितिले १५ दिनभित्र सम्बन्धित निकाय, विभाग, मन्त्रालय र व्यक्तिहरुसँग छलफल गरी आफ्नो राय पेश गर्ने छ ।

समितिको छलफलमा सांसदहरुले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीहरुले नेटवर्किङ व्यवसायकै रुपमा अगाडि बढेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए । ऐनअनुसार अनुमति दिने काम रोक्न सांसदहरुले माग गरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु बिक्री फरक भएको बताए । अहिले दर्ता भएका कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइएमा कुनै पनि हालतमा छुट नदिने उनले बताए ।

सरकारले ल्याएको ऐन अनुसार अहिले सातवटा कम्पनीले अनुमति प्राप्त गरेका छन् । ती कम्पनीहरुबाट उपभोक्ता नठगिने र गुणस्तरीय वस्तुको बिक्री वितरण हुने उनले बताए ।

Loading...