प्रदेश १ मा १८ संक्रमित थपिए, ४२ जना डिस्चार्ज

विराटनगर, १५ साउन । प्रदेश १ माआज १८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जना गरी थप १८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको बेलकामा १ महिला, १ पुरुष र सोलुखम्बुको दूधकुण्डमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश महेताले जानकारी दिए ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ ।

यस्तै प्रदेश १ मा कोरोना जित्नेको संख्या ७ सय ८९ पुगेको छ । आज थप ४२ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४ पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ पुरुष र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Loading...